४ सय ३६ घरधुरी आवद्ध वराहक्षेत्रको बयरवन सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा पूष्पदीप पौडेल निर्वाचित भएका छन् ।
प्रतिद्वन्द्वी राम गोपाल खडकालाई २८ मतान्तरले पछि पार्दै पौडेल निर्वाचित हुँदा उनले १ सय ८५ मत प्राप्त गरेका थिए । निर्वाचित हुनुपर्ने ३ सदस्य मध्ये प्रह्लाद खड्का र प्रेम खड्का निर्वाचित भएका छन् भने आदिवासी जनजातितर्फ थामकुमारी राई निर्विरोध सदस्य निर्वाचित भएकी थिइन् ।
चुनावमार्फत २ जना निर्वाचित हुनुपर्नेमा ५ जनाले उम्मेदवारी दिएका थिए । सबैभन्दा बढी क्रमशः प्रह्लादले १ सय ४२ र प्रेमले १ सय ३० मत प्राप्त गरी विजयी भएको निर्वाचन समिति संयोजक ज्ञानबहादुर पाण्डेले घोषणा गरेका थिए । निर्वाचितलाई औपचारिक कार्यक्रम गरी प्रमाणपत्र प्रदान गरिने संयोजक पाण्डेले जानकारी दिए ।
सामुदायिक वनको निर्वाचनमा राजनीतिक दाउपेच भएको उपभोक्ताको आलोचनाबीच पौडेल निर्वाचित भएका हुन् । उनी नेकपा एमाले र नेपाली काङ्ग्रेसका असन्तुष्ट पक्षको समर्थनमा निर्वाचित भएका हुन् भने सत्ता गठबन्धनले नेकपा एकीकृत समाजवादी समर्थक रामगोपाल खड्कालाई उर्दी जारी गरी समर्थन गरेको थियो । सत्तागठबन्धनको ह्वीपका बीच उम्मेदवार खड्का पराजित हुँदा पौडेल निर्वाचित भएका हुन् ।