भद्रपुर । ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर मेची भन्सार कार्यालय काँकडभिट्टाले मेचीनगर–७ इँटाभट्टास्थित समाज सेवा सुधार युवा सङ्घ अपाङ्ग सहयोग समितिलाई २० थान कम्बल वितरण गरेकोे छ ।

त्यस्तै मेचीनगर–९ स्थित स्वबोध साधना केन्द्र (अनाथ असहाय आश्रित बाल आश्रम) लाई १३ थान कम्बल हस्तान्तरण गरिएको थियो । भन्सार कार्यालयले उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत र उद्योगी दीनबन्धु गोयलसँगको संयोजनमा कम्बल वितरण गरेको हो ।

यसैगरी मेची सामुदायिक सेवा केन्द्र मेचीनगरलाई विनायक ट्रेड लिङ्क जनकपुरले १५ थान कुर्सी प्रदान गरेको छ । कार्यक्रममा मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी, मेची भन्सार एजेन्ट सङ्घका अध्यक्ष मोहन निरौला, मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेमराज प्रसाईं, उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत, ट्रान्स नेपाल ट्रेड सर्भिसका प्रमुख राजेश तिवारी, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल, उद्योगी दीनबन्धु गोयललगायत सहभागी थिए ।

आउँदै गरेको दिवसको अवसर पारेर कार्यालयले काँकडभिट्टामा सरसफाइ र रक्तदान कार्यक्रम गरेको थियो । जारी कार्यक्रम अन्तर्गत भन्सार परिसरभित्र सरसफाइ र रक्तदान कार्यक्रम गरिएको कार्यालयका प्रमुख भन्सार अधिकृत रेग्मीले बताए । रोटरी क्लब अफ काँकडभिट्टाको संयोजन र नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५२ जनाले रगत दान गरेका थिए ।

दिवसको पूर्वसन्ध्यामा कार्यालयले मेची ब्याडमिन्टन क्लबको प्राविधिक सहयोगमा काँकडभिट्टास्थित मेची सामुदायिक भवनको कभर्ड हलमा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता गरेको थियो ।  दिवसको सन्दर्भ पारेर कार्यालयले बुधबार मेची सामुदायिक सेवा केन्द्रको संयोजनमा मेचीनगरस्तरीय अन्तर मा.वि. वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ ।

त्यस्तै कार्यालयले मेची उद्योग वाणिज्य सङ्घको संयोजनमा व्यवसायी सहजीकरणका विषयमा अन्तरक्रिया गर्नेछ भने प्रतियोगितामा उत्कृष्ट हुनेहरूलाई माघ १२ गते शुक्रबार भन्सार दिवसका दिन औपचारिक कार्यक्रममार्फत् पुरस्कृत गरिने प्रमुख भन्सार अधिकृत रेग्मीले बताए । दिवसका अवसरमा उत्कृष्ट भन्सार एजेन्टलाई समेत पुरस्कृत गरिने कार्यक्रम छ । विश्व भन्सार सङ्गठनको निर्णय अनुरूप प्रत्येक वर्षको जनवरी २६ तारिखमा यो दिवस संसारभर मनाउने गरिएको छ ।