मोरङको उर्लाबारी–९ का रामबहादुर एभेङ (लिम्बू) का परिवारले आफ्ना स्वर्गीय बुबाको स्मृतिमा १० लाख रुपैयाँ खर्चेर चमेना गृह निर्माण गरिदिएका छन् ।
एभेङ परिवारले आफ्ना स्वर्गीय बुबा धनबहादुर एभेङको स्मृतिमा मोरङको पथरीशनिश्चरे –१० स्थित सिरिजङ्घा स्मृति धार्मिक वन परिसरमा चमेना गृह बनाई धार्मिक वनलाई बिहीबार हस्तान्तरण गरेका हुन् ।
चमेना गृहको पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्बापोले उद्घाटन गरेका छन् । गत मङ्सिर १८ गते शिलान्यास गरिएको ९ सय स्वायर फिटको जस्तापाताले छाएको चमेना गृहमा दुई कोठा छन् ।
२०७९ साल माघ २ गते मृत्यु भएका धनबहादुर एभेङका पाँच छोरीहरू, तीन छोराहरु र पत्नी सञ्चरानी साँवाले निजी खर्चमा सार्वजनिक स्थानमा चमेना गृह बनाइ दिएका हुन् । सोही अवसरमा चमेना गृहदातालाई सम्मान गरिएको छ ।
निर्मित भवनको स्वामित्व लिंदै धार्मिक वनले पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्बापोको प्रमुख आतिथ्यतामा रिबन काटेर उद्घाटन गरिएको हो । सिरिजङ्गा स्मृति धार्मिक वन समितिका अध्यक्ष डम्बर चोङ्वाङ लिम्बूको अध्यक्षतामा भवन उद्घाटन तथा सामुदायिक चमेना गृह निर्माणकर्तालाई सम्मान गरेका थिए ।
कार्यक्रममा चमेना गृह निर्माण गर्ने सन्चरानी एभेङ लिम्बूलगायत परिवारलाई सम्मान-पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । एभेङ परिवारका सन्चरानी एभेङ लिम्बू, छोराहरु राम एभेङ लिम्बू, छोरीहरु जयकला साँवा लिम्बू, रुपा एभेङ लिम्बू, ज्वाई मानबहादुर साँवा लिम्बूले चमेना गृह निर्माण गरेका हुन् ।
भवन निर्माण गर्दा लागेको खर्च विवरण धार्मिक वन लेखा समिति संयोजक धनप्रसाद लिम्बूले सार्वजनिक गरेका थिए ।