विजयपुर । धरानमा जर्मन भाषाको अध्यापन हुने सुरु भएको छ ।

शनिबार धरान–३ स्थित सदन रोडमा एनएस ग्लोबल सोलुशन प्रा.लि.को शाखा कार्यालय उद्घाटन भएसँगै धरानमा जर्मन भाषा अध्यापन हुने भएको हो । शाखाका कोशी प्रदेश सभा सदस्य विजय राई र धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले संयुक्तरूपमा उद्घाटन गरे ।

कोशी प्रदेश सदस्य राईले  देशका युवा जनशक्ति वैदेशिक रोजगारीमा गएकाले  रेमिट्यान्स भित्रिने बताए । उनले शिक्षक र युवा जनशक्तिको वैदेशिक पलायनले मुलुक विकासमा पछि परेको पनि बताए ।  उपप्रमुख बेघाले धरान कृषि, पर्यटन मात्र नभई रेमिट्यान्सले धानेको सहर भएको बताए ।

उनले युके, अमेरिका, जापान, अष्ट्रेलियालगायतका मुलुकमा भएको परिवर्तनको असर सबैभन्दा पहिले धरानमा पर्नेसमेत भएको बताए । एसएन ग्लोबल सोलुशन प्राइभेट लिमिटेडका अध्यक्ष पूर्ण राईले जर्मन भाषा साथै अष्ट्रेलिया, जापान, साउथ कोरिया, युके, क्यानडेली भाषाको समेत कक्षा सञ्चालन गरिने बताए । एसएनको केन्द्रीय कार्यालय काठमाडौँमा छ । कार्यक्रममा धरान–३ का वडा सदस्य मिङ्मा भोटेलगायतको उपस्थिति रहेको थियो ।