विजयपुर । भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानले भारतको ७५ औँ गणतन्त्र दिवस मनाएको छ ।

शुक्रबार विविध कार्यक्रम आयोजना गरी दिवस मनाएको हो । पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी, मेजर भरत कनोजियाले भारतको राष्ट्रिय ध्वजा झण्डोत्तलन गर्नुका साथै सहिद स्मारकमा माल्यार्पण गरेर कार्यक्रमको उद््घाटन गरे । कार्यक्रममा वीरनारी तथा वीर पदक धारक १० जनालाई सम्मान पनि गरिएको थियो । उनीहरूलाई ब्ल्याङकेट तथा दोसल्ला ओढाएर सम्मान गरिएको हो । कार्यालयले भू.पू. सैनिक तथा तिनका आश्रितलाई हिँडडुल गर्न सहायक सामग्रीहरू प्रदान गरेको छ । ५ जनालाई ह्विल चियर तथा एक जनालाई वाकिङ स्टिक प्रदान गरिएको हो । कार्यक्रममा भू.पू. पत्रिका २०२४ संस्करण लोकार्पण पनि गरिएको थियो ।

भू.पू.हरूबीचमा रस्साकस्सी र सुई धागा प्रतियोगिता पनि भएको थियो । प्रतियोगितामा भू.पू. समिति हाँसपोसा तरहरा विजयी बन्यो भने भू.पू. समिति धरान दोस्रो भयो । बालबालिकाकाबीच मनोरञ्जनात्मक खेल जलेबी रेस प्रतियोगिता भएको थियो ।

कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका डिआईजी किशोर श्रेष्ठ, नेपाल प्रहरी प्रदेश कार्यालय, धरानका एसएसपी मनोज यादव, इलाका प्रहरी कार्यालय धरान डिएसपी नवराज मल्ल, जिल्ला ट्राफिक कार्यालय सुनसरीका प्रमुख सुवास केसी, नेपाल प्रहरी स्कुल धरानका इञ्चार्ज इन्स्पेक्टर प्रवीन कार्की, प्रिन्सिपल डिकेन्द्र राया, हात्तीसार क्याम्पसका सहायक क्याम्पस प्रमुख कामना राई, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डा. विक्रमप्रसाद श्रेष्ठ, डा.मन्नु विक्रम, डा. राजीव महर्जन, डा. अजयकुमार यादव, डा. रोसनप्रसाद साह कलवार, डा. गजेन्द्र बिराजी, डा. प्रतिमाकुमारी साह, डिपिएस स्कुलका प्रिन्सिपल पिके शङ्करालिनगम, इन्चार्ज आदित्य सिंह, सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठ, धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा दिल्ली पब्लिक स्कुलका विद्यार्थीले  मनोरञ्जनात्मक प्रस्तुति प्रदर्शन गरे । नितु थापा मगरले गीत प्रस्तुत गरिन् ।