विराटनगर । विराटनगरस्थित मानव सेवा आश्रमको भवन निर्माणको लागि समाजसेवी उद्योगी दीनबन्धु गोयलले ५ लाख ११ हजार एक सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

आश्रममा मङ्गलबार एक कार्यक्रम आयोजना गरी भवन निर्माणको लागि गोयलले आर्थिक सहयोग गरेका हुन् । विराटनगर महानगरपालिका–५ मा २३ करोडको लागतमा सुविधा सम्पन्न भवन निर्माण भइरहेको छ । उक्त भवनको एउटा कोठा निर्माणको लागि गोयलले आर्थिक रकम सहयोग गरेका हुन् । सोही अवसरमा गोयलले आश्रममा रहेका असहाय ज्येष्ठ नागरिकहरूलाई एक महिनासम्म पुग्ने खाद्यान्न पनि वितरण गरेका छन् । उनले आश्रममा ३१ बोरा चामल वितरण गरेका हुन् । त्यसैगरी मङ्गलबार एक छाकको भोजन पनि समाजसेवी गोयलले ज्येष्ठ नागरिक र बालबालिकाहरूलाई खुवाएका छन् ।

समाजसेवी गोयलले बाञ्चुन्जेल सामाजिक कार्यलाई निरन्तरता दिएर अगाडि बढ्ने बताए । ‘पहिले आउँदा निकै विचलित भएको थिएँ । भवन निर्माण गर्दा एउटा कोठा दिने प्रतिबद्धता गरेको थिएँ । त्यो अहिले आएर पूरा गरेको छु’ उनले भने, ‘जन्मेपछि सबैथोक छोडेर जानुपर्ने रहेछ । त्यसैले पनि अहिले कमाइको ९० प्रतिशत देशभरि सेवामा खर्चिरहेको छु ।’

दुई दिनमा १५ लाख जति सहयोग बाँडिसकेको उनले सुनाए । ‘यसरी नै बाँचुन्जेल बाँड्न पुगोस्’–उनले भने । कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले मानवसेवा आश्रमको व्यवस्थापनको लागि महानगरले पनि हेर्ने बताइन् । ‘महानगरको दायित्व भए पनि सबैको साथ सहयोगले आश्रम चलेको छ । सकेको साथ सहयोग गरेर अगाडि बढ्नुपर्छ’–उनले भनिन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले राज्यले गरिनुपर्ने काम समुदायस्तरबाट साथ सहयोगले असहायहरूको लागि मानवसेवा आश्रम चलेको बताए । राज्यले नसक्दा दाताहरूबाट सेवामा सबै जुट्नु पर्ने उनले बताए । कार्यक्रममा बोल्दै भवन निर्माण समितिका संयोजक लीला ढुङ्गेलले  समाजसेवी गोयल सेवाको नमुना व्यक्ति रहेको बताए । उदारता र मनकारी भावले अहिलेसम्म साथ सहयोग गरेको बताए ।