'स्पाइनलकर्ड इन्जर्ड' मजदुर पूण्य प्याकुरेललाई लायन्स क्लब विजयपुरले भान्छा कोठा निर्माण गरिदिएको छ ।

धरान-१५ महादेव चोक निवासी हिंडडुल गर्न नसक्ने बिरामी प्याकुरेललाई भान्छा कोठा निर्माण गरी हस्तान्तरण गरिएको विजयपुरकी पूर्व अध्यक्ष एलसिआइएफ लायन्स रेखा गुरुङले जानकारी दिइन् ।

लायन्स क्लबले एक लाख दश हजार रुपैयाँ लागतमा निमार्ण गरी मंगलबार हस्तान्तरण गरेको हो ।

बिरामी प्याकुरेलको अवस्थाको विषयमा जानकारी पाएपछि क्लबले किचन निर्माणको योजना बनाएको लायन्स विजयपुरका अध्यक्ष उमा ताम्रकारले बताइन् ।
प्याकुरेल करिब ९ वर्ष अघि मजदुरी गरेर घर फर्किंदा दुर्घटनामा परेका थिए । उनको छातिको भागदेखि मुनि पक्षघात भएको छ ।

यस अघि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र धरानका पत्रकारहरुले तिहारमा देउसी खेलेर प्याकुरेलको घर निर्माण गरिदिएका थिए ।

प्याकुरेलका परिवारमा श्रीमती, एक छोरा र एक छोरी छन् । अर्थिक अवस्था कमजोर रहेका उनको परिवारका लागि लायन्स क्लब अफ धरान विजयपुरले नियमित रुपमा औषधि, खाद्यान्न, बालबच्चाका लागि आवश्यक शैक्षिक सामग्रीलगायत उपलव्ध गराउँदै आएको छ । हस्तान्तरण कार्यक्रममा डिस्ट्रिक गर्भनर शिवहरी शर्मा, भाइस गर्भनर विकास अधिकारी, आइपिडिजि धिरज गुरुङ लगायतको उपस्थिति थियो ।