विराटनगर । विराटनगर महानगरपालिका–१० स्थित स्वयम्भू बचत तथा ऋण सहकारी संस्था लि.मा जम्मा गरेको निक्षेप फिर्ता दिलाइदिन बचतकर्ताहरूले हारगुहार गरेका छन् ।

सहकारीमा फिक्स डिपोजिट गरेको वर्ष दिन भइसक्दा पनि अहिलेसम्म साँवा र ब्याज फिर्ता नदिएको भन्दै दिलाइदिन उनीहरूले माग गरेका हुन् ।

विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी विराटनगर–१२ का वर्ष ४१ का सागर आले र सुनसरी दुहबी नगरपालिका–४ का ४६ वर्षीय नगेन्द्रप्रसाद दाहालले बचत गरेको निपेक्ष स्वयम्भू बचत तथा ऋण सहकारी संस्थाले नदिएपछि बाध्य भएर सरोकारवाला गुहार्नु परेको बताए । आले मगरले उक्त सहकारीमा २०७८ साउन १ गते आठ प्रतिशत ब्याजमा ४३ हजार १ सय ६५ रुपैयाँ जम्मा गरेका थिए । दाहालले पनि सोही मितिमा ३४ हजार २ सय १६ रुपैयाँ जम्मा गरेका थिए ।

उनीहरूले डिपोजिट गरेको डिपोजिटको अवधि २०७८ माघ २ गते पूरा हुन्छ । तर, सहकारीले अहिलेसम्म साँवा र ब्याज दिएको छैन । ‘दुःख गरेर आर्जेको रकम सहकारीमा जम्मा गरेको थिएँ । भाखा पूरा भएपछि लिन जाँदा जहिले पनि टार्ने मात्र काम भइरहेको थियो । अहिले सहकारीमा जाँदा सहकारी बन्द रहेको छ’ पीडित आले मगरले भने, ‘सहकारीका अध्यक्ष सम्र्पकविहीन छन् ।’

सहकारीले पैसा दिने कुनै टुङ्गो नभएपछि अहिले प्रहरीमा ठगीमा उजुरी दिने तयारी गरिएको उनले बताए । स्वयम्भू बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रदीप महतो हुन् । अध्यक्ष महतोसँग यसबारे बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।