धरान । प्रा.डा. टङ्कप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्रले ‘भयवाद’ बारे विमर्श कार्यक्रम मङ्गलबार सम्पन्न गरेको छ ।
धरान–१४ मा आयोजित कार्यक्रममा भयवादको विषयमा विमर्श गर्दै विभिन्न क्षेत्रमा योगदान दिने चार जना स्रष्टा तथा लेखकलाई सम्मानित गरिएको छ । केन्द्रका संरक्षक भाषाविद् प्रा.डा. टङ्क न्यौपानेका अनुसार धरानका अग्रज व्यक्तित्व वृखबहादुर डङ्गोल, साहित्यकार सरणकुमार राई, विराटनगरकी शोभा लामा बल, गोर्खा वारियरका रोशनमणि राईलाई सम्मान–पत्रले सम्मानित गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि शिक्षामन्त्री अशोककुमार राई, केन्द्रका संरक्षक न्यौपाने, अध्यक्ष डा. रमेश घिमिरेलगायतले सम्मान–पत्र र दोसल्ला ओढाई सम्मानित गरेका थिए ।
कार्यक्रममा भयवादका विषयमा धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले ‘सार्वजनिक सुशासनमा भयवाद’ र गिरिराज खतिवडाले ‘भयवादको सैद्धान्तिक चिनारी’ सम्बन्धी कार्यपत्र प्रस्तुत गरे । भयवादलाई धरानकै स्रष्टा तथा लेखक देश सुब्बाले प्रवर्तन गरेका हुन् ।
हाल हङ्कङमा रहेका सुब्बाले भयवादका विषयमा थुप्रै पुस्तकहरू लेखेर विश्वमा नयाँ दर्शनलाई स्थापित गरेका छन् । कार्यक्रममा भयवाद अध्ययन केन्द्रको सहयोग रहेको थियो ।