भोजपुर नगरपालिका वडा नम्बर –५ बोखिकले किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ उन्नत जातका फलफूलका बिरुवा वितरण गरेको छ।
राष्ट्रिय फलफूल केन्द्रले सूचीकृत गरेको नर्सरीबाट ल्याएर वडाभित्रका करिब दुई सय किसानलाई स्याउ, अङ्गुर, नास्पातीलगायतका बिरुवा वितरण गरेको वडाध्यक्ष फबिन्द्र प्रधानले बताइका छन्। धरान, विराटनगरलगायत ठाउँबाट खरिद गरेर ल्याइने फलफूलजन्य सामग्रीलाई रोकेर आफ्नै जिल्लामा उत्पादन गर्न किसानलाई प्रोत्साहन गर्न अनुदानमा बिरुवा वितरण गरेको उनको भनाइ छ।
चालु आर्थिक वर्ष २०८०/८१ को बजेटबाट विनियोजन भएको दुई लाख २५ हजार र किसानमार्फत २५ प्रतिशत गरी तीन लाखबराबरको बिरुवा वितरण गरिएको वडाध्यक्ष प्रधानले बताए। वडा कार्यालयमार्फत हावापानी अनुकूल बिरुवा वितरण गरिएपछि स्थानीय किसान उत्साहित बनेका छन्।
“कृषि विज्ञसँगको परामर्शमा वडाले बिरुवा वितरण गरेको हो”, वडाध्यक्ष प्रधानले भने । यसबाट किसानलाई राहत मिलेको उनको भनाइ छ।