विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा ‘एभरेष्ट कार्निभल २.०’ सुरु भएको छ । एभरेष्ट कलेजको खेलमैदानमा शनिबारदेखि एभरेष्ट कार्निभल सुरु भएको हो ।

कार्निभलको पहिलो दिन एभरेष्ट कलेज परिसरमा कक्षा २ देखि ५ सम्मका बालबालिकाले आफूले जानेका विषयको प्रदर्शनी गरे । सयौंको सङ्ख्यामा उपस्थित अभिभावकलाई बालबालिकाहरूले मनोरञ्जन प्रदान गरे ।

यस्तै आफ्नो कक्षामा पढेका विषयगत पाठमा नाटक प्रस्तुत गर्दा अभिभावक मख्ख परिरहेका देखिन्थे । कार्निभलमा नाटक हेरिरहेका अभिभावक बलराम गिरीले भने, ‘कस्तो बबाल एक्टिङ गरेको ।’ गाउँ समाजमा मिलेर बस्नुपर्छ भन्ने सन्देश बोकेको पाठको नाटक देखाइरहेका बालबालिकाले अधिकांश अभिभावकको ध्यान खिच्न सक्यो ।

गणित, नेपाली, सामाजिक, विज्ञान, कम्प्युटर, बिङ्गोलगायतका विभिन्न क्षेत्र छुट्याएर बालबालिकाले आफ्ना पाठ्यक्रममा रहेका विषयवस्तुको परियोजना प्रदर्शनी गरेका थिए । विषयगत विषयमा अभिभावकलाई समेत खेल खेलाउँदै तक्मा दिइरहेका देखिन्थे ।

एउटा महोत्सवजस्तै लाग्ने कार्निभलमा रहेका ३५ वटा स्टलमा कतिपय अभिभावक तथा विद्यार्थीहरू अवलोकन गर्न, खेल्न व्यस्त देखिन्थे भने कोही फोटो खिच्न त कोही बालबालिकाका प्रतिभाहरू हेरेर मख्ख देखिन्थे ।

कार्निभलको दोस्रो दिन विद्यालयभित्रै आन्तरिक प्रदर्शनी गर्ने तयारी गरेको एभरेष्टले फागुन ७ गते भने कक्षा ६ देखि १२ सम्मका विद्यार्थीको प्रत्यक्ष सहभागितामा भव्यरूपमा विभिन्न प्रदर्शनी, एभरेष्ट सिङ्गिङ आइडल–२०८० को ग्राण्ड फिनालेलगायतका कार्यक्रम गर्दै सम्पन्न गर्ने एभरेष्ट स्कुलका भाइस प्रिन्सिपल नारायण कडरीयाले बताए ।