विजयपुर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निलम्बित उपकुलपति डा. ज्ञानेन्द्र गिरीले सफाइ पाएका छन् ।
बुधबार विशेष अदालतले डा. गिरीलाई सफाइ दिएको हो । उपकुलपति डा. गिरीविरुद्ध प्रोफेसर पदको दुरुपयोग गरेको मुद्दा परेको थियो । विशेष अदालतका न्यायाधीशद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले डा. गिरीलाई सफाइ दिएको हो ।
अदालतको फैसलाले आफू खुसी भएको प्रतिक्रिया दिए । डा. कार्कीको पदावधि १ वर्ष १ महिना बाँकी छ । डा. गिरीसहित मतियारमा विराट मेडिकल कलेजका अध्यक्ष प्रा.डा. ज्ञानेन्द्रमान सिंह कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ माघ ९ गते मुद्दा दायर गरेको थियो ।
डा. गिरीले प्रोफेसर पद नपाएको ओहोदा पाएँ भनी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । प्रा.डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई पनि सफाइ दिएको अदालते जनाएको छ । अदालतले डा. गिरीले नियुक्तिका लागि नपाएको ओहोदाको कागजपत्र प्रयोग नगरेको, उक्त प्रोफेसर पदका आधारमा भ्रष्टाचारलगायतका अन्य काम नभएको भन्दै सफाइ दिएको हो ।
विशेषको यो आदेशसँगै डा.गिरी प्रतिष्ठानमा उपकुलपतिका रूपमा काम गर्न जाने भएका छन् । उपकुलपति डा. गिरीले भने, ‘खुसी छु । फैसलाको पूर्ण पाठ आएपछि हाजिर हुन्छु होला ।’ डा. गिरी निलम्बित भएपछि प्रतिष्ठानमा कायम मुकायम उपकुलपतिमा प्रा.डा. प्रह्लाद कार्की नियुक्त भएका थिए ।