धरान । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा धरानका दुई अधिकारकर्मीहरू सम्मानित भएका छन् ।
महिला सञ्जाल धरानले शुक्रबार सञ्जालका पूर्व अध्यक्षद्वय शीला बज्राचार्य र मीना पुलामीलाई सम्मान गरेको हो । धरान उपमहानगरपालिका र सञ्जालको संयुक्त आयोजनामा भएको कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो । विभिन्न सामाजिक संस्थामा रहेर महिला अधिकारका साथै सामाजिक सेवामा काम गरेबापत उनीहरूलाई सम्मान प्रदान गरिएको सञ्जालकी अध्यक्ष सपना राईले जानकारी दिइन् ।
उनीहरूलाई सञ्जालकी अध्यक्ष राई, धरानका नगर प्रमुख हर्क साम्पाङ, धरानकी प्रमुख प्रशासकीय अधिकृत प्रज्ञा निरौलालगायतले सम्मान–पत्र र दोसल्ला प्रदान गरेका थिए ।
सो अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगीतामा धरान–६ की अनुषा शर्मा प्रथम भएकी छन् । त्यस्तै वडा १४ की विभूति कटुवाल दोस्रो, वडा १६ की अनुष्का राई तेस्रो भइन् । वडा १७ की सविता पुरी सान्त्वना भइन् । उनीहरूले क्रमशः १० हजार, ८ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार र प्रमाण–पत्र पाए ।