धरान । नेपाली काङ्ग्रेसले महाशिवरात्रिको अवसरमा निःशुल्क पिउने पानी वितरण गरेको छ । महाशिवरात्रि पर्वका दिन धरान–१४ स्थित पिण्डेश्वर बाबा धाममा दर्शन गर्न आएका भक्तजनहरूलाई नेपाली काङ्ग्रेस सुनसरीको १ नं. प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले निःशुल्क पिउने पानी वितरण गरेको हो ।
देश बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय भएजस्तै पार्टी पनि जाति, धर्म र संस्कृतिले विविधतायुक्त भएको हुँदा नेपाली काङ्ग्रेस क्षेत्र नं. १ सुनसरीले हरेक धार्मिक आस्था र जातीय संस्कार र संस्कृतिलाई संस्थागतरूपले मनाउने नीति अवलम्बन गरेअनुरूप महाशिवरात्रिको अवसरमा पूजा गर्न टाढा–टाढाबाट आएर घण्टौं लाइनमा बसेका दर्शनार्थीहरूको प्यास मेटाउन निःशुल्क शुद्ध पिउने पानी वितरण गरेको क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए ।
उनले आफूहरूले कुनै राजनीति गरेको नभई पार्टीले निर्वाह गर्नुपर्ने सामाजिक उत्तरदायित्व वहन गरेको र आफूहरूको सामाजिक एवम् सांस्कृतिक क्रियाकलापले समाजमा सद्भाव, सहिष्णुता र एकता अभिवृद्धि भएर गएको बताए ।
बुद्धिजीवी राजेन्द्र शर्माले लामो समय पूजाका लागि लाइनमा बसेर तिर्खाएका भक्तजनहरूलाई निःशुल्क पानी वितरण गरेर काङ्ग्रेसले अति नै सह्रानीय कार्य गरेको भन्दै धन्यवाद व्यक्त गरे ।