धरान । दुवै मिर्गौला फेल भएका वराहक्षेत्र नगरपालिका–१ स्थित सूर्यकुण्डका हेमकुमार राईलाई नेपाली काङ्ग्रेसले आर्थिक सहयोग गरेको छ ।
काङ्ग्रेसको वराहक्षेत्र–१ कार्यसमितिले राईको उपचारका लागि ३६ हजार ५ सय ३० रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो । पीडित राईलाई नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले रकम हस्तान्तरण गरेका थिए । सो अवसरमा सभापति तामाङले सहयोग सङ्कलनमा अग्रसरता र पहलकदमी गरेको भन्दै वडा सभापति ईश्वर थापा र सहयोगी सबैलाई धन्यवाद व्यक्त गरे ।
उनले आफूले पनि उपचारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउँदै थप सहयोगका लागि सबैले अग्रसरता देखाउन आग्रह गरे । वराहक्षेत्र–१ का वडा सभापति ईश्वर थापाले पनि सहयोगी सबैलाई धन्यवाद व्यक्त गर्दै उपचारमा धेरै रकम आवश्यक पर्ने भएकाले थप रकम सङ्कलनका लागि पहल गर्ने बताए ।
बोन ड्यामेज र प्याराथाइराइड रोग निको हुने अवस्थामा पुगेका बेला उनको दुवै मिर्गौला काम नगर्ने भएपछि पुनः बल्झिन सुरु गरेको र मिर्गौला प्रत्यारोपण समयमा भएमा पुनः निको हुने चिकित्सकले बताएको समेत पीडित राईले बताए ।
सहयोग हस्तान्तरणका अवसरमा नेपाली काङ्ग्रेसका महासमिति सदस्य जगतबहादुर कार्की, पूर्व वडाध्यक्ष सुरेश श्रेष्ठ, बीपी कोइराला आधारभूत विद्यालयका प्रधानाध्यापक गोकुल गुरागाईं, प्रदेश प्रतिनिधि सुशीला शेर्पा, नगर उपसभापति जितबहादुर कार्की, तरुण दल नगर सचिव मनोज तामाङ, वडा सचिव राज तामाङ, समाजसेवी लक्ष्मी मालाकारलगायतको उपस्थिति रहेको थियो ।