धनकुटा । स्व.चक्रबहादुर पालुङ्वा फाउण्डेसन धरान–१२ ले मास्टर स्व.चक्रबहादुर पालुङ्वाको ९० औं जन्मजयन्तीको अवसर पारेर सम्मान तथा वृद्धवृद्धालाई खाद्यान्न वितरण कार्यक्रम आयोजना गरेको छ ।

फाउण्डेसनले लामो समयदेखि धनकुटामा पत्रकारिता गरिरहेका ब्लाष्टकर्मी सन्तवीर लामालाई मोफसलमा रहेर उत्पीडित जातिको हकअधिकारको सवालमा कलम चलाएको भन्दै सम्मान गरेको हो । जनजातिहरूको हकअधिकारको सवालमा कलम चलाएर राज्यलाई झक्झकाएको भन्दै लामालाई सम्मान गरिएको फाउण्डेसनका अध्यक्ष योगेन्द्र पालुङ्वाले बताए ।

कार्यक्रममा विशिष्ट अतिथि धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले पत्रकार लामालाई नगद १० हजार ५ सयसहित सम्मान–पत्र प्रदान गरे । सो अवसरमा फाउण्डेसनका संरक्षक विष्णुमाया पतङ्वा पालुङ्वा, उपाध्यक्ष सरस्वती पालुङ्वा र सल्लाहकार डि.बी.पालुङ्वाले पनि संयुक्तरूपमा पत्रकार लामालाई सम्मान–पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा विश्रान्ति मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन गोठाले, उपाध्यक्ष शङ्कर दाहाललाई फाउण्डेसनको तर्फबाट लगिएको चालम, दाल, चिनी, खाने तेल, फलफूललगायतका खाद्य सामग्री हस्तान्तरण गरिएको थियो ।