धरान/हङ्कङलाई कर्मथलो बनाउँदै आएकी बागलुङकी कवि जुनु रानाको कविताकृति रातो नदी शनिबार काठमाडौँमा लोकार्पण गरिएको छ । 

कृतिको नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कवि तथा मुन्धुमविद् बैरागी काइँलाले लोकार्पण गरे । मुन्धुमविद् काइँलाले पछिल्लो चेतनालाई पक्रेर कविता लेखिएको बताए । पुस्तकलाई रत्न पुस्तक भण्डारले प्रकाशित गरेको हो । उनले मूलधार भनिने एउटा पक्षले बेवास्ता गरे पनि फरक नपर्ने बताए । 

कार्यक्रमका अर्का अतिथि प्राज्ञ श्रवण मुकारुङले सामान्य लागेको विषयलाई पनि नयाँ कोणबाट प्रस्तुत गर्न सफल भएको बताए । उनले समकालीन कविको भीडमा कवि रानाको कविताकृतिले नयाँ बहस सिर्जना गरेको बताए । कवि तथा समालोचक डा. विन्दु शर्मा, कवि तथा सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवा र कवि तथा आख्यानकार विना थिङले विमोचित कृतिमाथि समीक्षात्मक मन्तव्य राखेका थिए ।