नेपाली समुदाय जहाँ–जहाँ पुग्छ, त्यहाँ नेपाली चाडपर्व मनाउने गरिन्छ । दशैं, तिहारजस्ता ठूला नेपाली चाडपर्व संसारमा रहेका नेपाली तथा नेपाली भाषीले मनाउने गरेका छन् । नेपालीहरूको बाक्लो उपस्थिति रहेको हङ्कङमा विभिन्न समुदायले नेपाली चाडपर्व मनाउने गरेका छन् । यसबाट नयाँ पुस्ताले पनि आफ्नो संस्कार र संस्कृति सिकिरहेका छन् । संस्कृतिबारे नयाँ शिक्षा पाइरहेका छन् ।

यस पटकको दशैंमा नेवार समाज हङ्कङले टीका, जमरा लगाएर शुभकामना आदान–प्रदान गरेको थियो । यो अवसरमा नेवार समुदायका अग्रज पुस्ताले नयाँ पुस्तालाई आफ्नो संस्कृति पनि सिकाइरहेका थिए ।

नेवारी पहिरनमा सजिएर इन्डिया क्लबमा पुगेका अग्रज र नयाँ पुस्ताले दशैंमा टीका र जमरा लगाउने मात्र होइन, नेवारी संस्कृतिको महत्वपूर्ण लाखे नाच पनि हेर्ने र बुझ्ने अवसर पाए । ढोल–झ्याम्टासहितको नेवारी परम्परागत लाखे नाच हेर्दा अग्रजपुस्ता मात्र होइन, हङ्कङमै जन्मे हुर्केको नयाँ पुस्ता पनि मख्ख देखिन्थ्यो ।

२० वर्षअगाडि स्थापना भएको नेवार समाज हङ्कङले प्रवासमा पनि आफ्नो समुदायलाई सङ्गठित गर्दै आफ्नो संस्कार, संस्कृति र पहिचानलाई जीवन्त राख्ने काम गर्दै आएको छ । हरेक वर्ष दशैंमा टीका लगाउने, तिहारमा म्हःपूजा गर्ने, यमरी पुन्ही, नयाँ वर्ष मनाउनेलगायतका कार्यक्रमहरू गरेर हङ्कङेली नेपाली समाजमा आफूलाई स्थापित गराउँदै लगिरहेको छ ।

हङ्कङमा रहेका नेवार समुदायकी ज्येष्ठमध्येकी ७४ वर्षीया देवीमाया श्रेष्ठले पूजा गरेर समाजकी अध्यक्ष रचना प्रधानलाई रातो टीका र जमरा लगाइदिएपछि दशैंको टीका ग्रहण सुरु भएको थियो । दशैंलगत्तै तिहारमा म्हः पूजाको तयारीमा जुटेको समाजकी अध्यक्ष रचना प्रधानलाई भ्याई नभ्याई थियो । उनले आफ्नो संस्कृति संरक्षण गर्न र नयाँ पुस्तालाई सिकाउन यस्तो कार्यक्रम निरन्तर गर्दै आएको बताइन् ।

Newar Samaj (1) 2

हङ्कङमा नयाँ पुस्ताले आफ्नो भाषा, संस्कृति बिर्सिंदै गएको अवस्थामा कतिपयले भने आफ्नो परिवार र सन्तानलाई संस्कृति सिकाउन चाडपर्व र सांस्कृतिक कार्यक्रममा लिएर आउने गरेका छन् । यसपटकको दशैंमा श्रीकृष्ण श्रेष्ठ र जेनको नेपाली÷नेवारी र चाइनिज मिश्रित परिवारका ५ सदस्य नेवारी पहिरनमा सजिएर दशैं कार्यक्रममा सहभागी भएका थिए । दुई छोरी र एक छोरासहितको यो परिवारका ४ जनालाई नेपाली÷नेवारी भाषा बोल्न नआए पनि नेपाली–नेवारी  संस्कृति र संस्कारलाई आत्मसात गरिरहेका थिए । श्रीकृष्ण श्रेष्ठ र नेवार समुदायकी चाइनिज बुहारी जेनले नेपाली चाड मनाउन पाउँदा रमाइलो लागेको अनुभव सुनाए ।

नयाँ पुस्ताका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने आफ्नो परिवारसहित आएकी समाजकी अग्रज अभिभावक गङ्गा श्रेष्ठको भनाइ छ । सहभागीहरूले आफूहरू समाजको हरेक गतिविधिमा सहभागी भएर सबैसँग भेटघाट हुँदा रमाइलो महसुस भइरहेको बताएका थिए ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) आईसिसीकी महिला सचिव टीका गुरुङ (राधिका) नेवार समाजको हरेक कार्यक्रमहरूमा सरिक हँुदै आएको बताउँछिन् । उनलाई यस्ता चाडपर्व मनाउन पाउँदा आनन्द लाग्छ । त्यस्तै एनआरएनए हङ्कङका प्रवक्ता तथा हङ्कङ तामाङ घेदुङका पूर्व अध्यक्ष विश्व घिसिङ पनि रमाइलो अनुभव भएको बताउँछन् । उनी नेपालका विभिन्न संस्कार र संस्कृतिलाई सबैले सम्मान गर्नुपर्ने बताउँछन् । नेपालबाट विद्यार्थीको रूपमा भर्खरै हङ्कङ आएका धर्मोदय ताम्राकारले हङ्कङमा आफ्नो समुदाय यसरी सङ्गठित देखेर खुसी लागेको बताए ।

Newar Samaj (2) 2

हङ्कङको नेपाली समाजमा नेवार समाज लाखे नाचका कारण पनि चर्चित छ । नेपाली महावाणिज्य दुतावास होस् या यहाँ हुने ठूला नेपाली सांस्कृतिक प्रदर्शनीहरूमा समेत लाखे नाच कार्यक्रमको आकर्षण बन्ने गरेको छ । हङ्कङ–मकाउमा हुने कार्यक्रमहरूमा समाजका कृष्णभक्त महर्जन, हरि श्रेष्ठ, अरुण महर्जन लाखे बनेर नाच्ने गरेका छन् । कृष्णभक्त भन्छन्, ‘हङ्कङमा पनि आफ्नो संस्कृति बचाउन दशैंजस्ता चाडपर्वमा पनि लाखे नाचेका हौं । आफ्नो संस्कृति मनाउन पाउँदा नेपालमै रहेजस्तो लाग्छ ।’

यस पटकको दशैं जमघटमा भने १८ वर्षीय तन्नेरी जिम्मी महर्जन दाइ अरुणको साथ र सहयोगमा पहिलो पटक लाखे बनेर प्रस्तुत भएका थिए । अरुण र जिम्मी सानैदेखिको प्रभावले आफूहरू लाखे बनेको बताउँछन् । आफ्नो संस्कृतिप्रति अग्रजहरूको लगावकै कारण नयाँ पुस्ता पनि यसरी आकर्षित भइरहेका छन् ।

नेवारी भेषभूषामा सजिएका नयाँ पुस्ताका नानीहरूमा पनि समुदाय र संस्कृतिप्रतिको आकर्षण बढ्दो देख्न सकिन्छ । नेवार समाज हङ्कङका पूर्व अध्यक्ष माणिकलाल श्रेष्ठ र संरक्षक इन्द्र सैंजु आफूहरू समाजका लागि निरन्तर जुटिरहने बताउँछन् । उनीहरू जस्तै अग्रज पुस्ताको सक्रियताले नै नयाँ पुस्ताले आफ्नो संस्कृति सिक्न पाइरहेका छन् ।

समाजका संस्थापक अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ हङ्कङजस्तो व्यस्त ठाउँमा समय–समयमा मात्र हुने यस्ता जमघटमा नयाँ पुस्ताका लागि उपयोगी हुने कार्यक्रमसमेत समेट्नु पर्ने सुझाव दिन्छन् । समाजका कार्य समितिका पदाधिकारीहरू रोहित श्रेष्ठ र राम श्रेष्ठ यस पटकको दशैं कार्यक्रम सफल भए पनि आगामी दिनमा नयाँ पुस्तालाई अझै समेट्ने गरी अघि बढ्ने बताउँछन् । अन्य समुदायले पनि आ–आफ्नो तरिकाले नयाँ पुस्तालाई संस्कृतिको ज्ञान दिइरहेकै छन् । अझ यसरी नै अग्रज र नयाँ पुस्तालाई समेटेर संस्कृति हस्तान्तरण गर्नु आवश्यक छ ।

(लेखक, हङ्कङका अग्रज पत्रकार हुन् ।)