धनकुटा । भूमिपुत्र किरात राईहरूको महान् पर्व उँधौली धनकुटाको टुँडिखेलमा धुमधामसँग शनिबार समापन गरिएको छ ।
किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई किरात राईहरूले उँधौली साकेला, याक्खाले चासुवा, सुनुवारले फलेस्याँदर, कुलुङले चाक्चाकुर, आठपहरियाले वाडाङ्मेट र लिम्बूहरूले चासोक तङ्नाम भन्ने गरेका छन् । किरात राई जातिमा बाली लगाउने बेलामा भने उँभौली अर्थात् याक्वा पर्व मनाउने प्रचलन छ । अन्नबाली पाकेर थन्काउने यो सिजनमा भने उँधौली पर्व किराती समुदायले परापूर्वकालदेखि मनाउँदै आएका छन् ।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको प्रमुख आतिथ्यमा तल्लो टुँडिखेलमा सम्पन्न साकेला उँधौली पर्वमा हजारौंको सङ्ख्यामा मौलिक भेषाभूषासहित झाँकी प्रदर्शन गरिएको हो । अघिल्लो वर्षहरू झैं यो वर्ष पनि साकेला उँधौलीमा रौनक बढेको हो । किरात राई यायोक्खा धनकुटाको आयोजनामा सम्पन्न भएको मौलिक झाँकी प्रदर्शनीमा साकेला सिली नृत्य, खाल्सा क्षेत्रका राईहरूको पापानी नाच र वाढाङ्मेट नाच प्रस्तुत गरिएको थियो । किरात समुदायमा रीतिरिवाज एउटै भए पनि आ–आफ्नो भाषाअनुसार यो पर्वमा आफ्नो इष्टदेवलाई पुकार्ने चलन छ ।
किरात समुदायको उल्लेख्य बसोबास रहेको धनकुटा जिल्लामा अघिल्लो वर्षहरूको तुलनामा यो वर्ष उँधौली पर्व धुमधामका साथ मनाइएको छ । अन्नलाई किरात समुदायले माङ् (देवता) का रूपमा मनाउने गर्दछ । पछिल्लो पुस्तामा जातजातिको सांस्कृतिक झाँकी भनेको के हो भन्ने थाहा हुन छाडेकाले नयाँ पुस्तालाई झक्झकाउन कार्यक्रमको आयोजना गरिएको किरात राई यायोक्खा धनकुटाका अध्यक्ष उद्धवमणि राईले जानकारी दिए । उनले झाँकी प्रदर्शनीमा धनकुटा जिल्लाको सातै पालिकाहरूबाट प्रतिनिधिमूलक ढङ्गले सहभागी भएको बताए ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता आनन्द सन्तोषी राई, जिल्ला सचिव विजय सन्तोषी राई, पहिचानवादी सङ्घर्ष जिल्ला समिति धनकुटाका जिल्ला संयोजक सञ्जयसन्तोषी राई, उप–संयोजक सरकुमारी आठपहरिया, नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्का अध्यक्ष नवीनकिशोर शाक्य, जसपाका जिल्ला अध्यक्ष पार्वती राई, नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाका अध्यक्ष विदुर खवास, आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) प्रदेश १ का अध्यक्ष सन्तवीर लामालगायतले शुभकामना व्यक्त गरेका थिए ।
त्यसैगरी एकल जातीय संस्थाहरूको तर्फबाट भूजेल सेवा समाज प्रदेश कमिटी सचिव जेपी भूजेल, नेपाल मगर सङ्घका प्रदेश सचिवालय सदस्य इन्द्र लुङ्गेली मगर, किरात याक्थुङ चुम्लुङका जिल्ला सचिव हेमु स्मृति चोङ्वाङलगायतको उपस्थिति रहेको थियो । यसैबीच किरात राई यायोक्खा जिल्ला समिति धनकुटाले साकेला उँधौली पर्वको अवसर पारेर जिल्ला सदरमुकाम धनकुटामा कार्यरत अधिकृत तहका राष्ट्रसेवक निजामती कर्मचारीहरू, संस्थामा योगदान गर्ने अग्रजहरू र किरात राई कलाकारहरूलाई फेटा गुथेर प्रमाण पत्रसहित सम्मान गरेको छ ।
सम्मानित हुनेहरूमा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दसरथ राईलगायत धनकुटामा हाल कार्यरत रहेका अधिकृत तहका राई समुदायका राष्ट्रसेवक निजामती कर्मचारीहरू र ख्यातिप्राप्त राष्ट्रिय कलाकार गायक कृष्णभक्त राईलगायतलाई मातृसंस्थाले सम्मान गरेको थियो । सम्मानित हुनेहरूलाई कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र किरात राई यायोक्खा धनकुटाका अध्यक्ष उद्धवमणि राईले फेटा गुथेर प्रमाण–पत्रसहित सम्मान गरेका थिए ।