सामुदायिक वनको अवधारणा नेपालमा भित्रिएपछि प्रत्येक आवधिक निर्वाचनपिच्छे सखाप पारिने वनहरु जोगिन सकेको हामी पाउँछौं । सामुदायिक वन व्यवस्थापन वनभित्रका बोटबिरूवा मात्र नभएर वन्यजन्तु आरक्षणको महत्वपूर्ण आधार बनेको मान्दै आएका त छौं तर सामुदायिक वन समिति नै मिलेर वनभित्रका काँचा रूखहरुसमेत सुख्खा ढलेको नाममा काटेको पाउँछौं । स्थानीय समुदायहरुलाई दिगो तथा वनसम्बन्धी नीतिगत तथा कार्यगत अभ्यासहरुमा सक्रिय रुपमा संलग्न गराउ“दै वनलाई जोगाइराख्ने प्रयास चलिरहेको छ । स्थानीय समुदायहरुको सशक्तीकरणले स्थानीय जनतामा वनको आवश्यकता, महŒव र दिगो व्यवस्थापनको जानकारी भई सामुदायिक वनको उद्देश्य हासिल गर्न सहयोग पुर्याउने हुन्छ र ती कामलाई नेतृत्व गर्ने सामुदायिक वनका समिति सदस्यहरुको जिम्मेवारीको भावना बढ्नुका साथै दिगो अभ्यास र प्रभावकारी संरक्षण प्रयासहरुलाई प्रोत्साहन गर्दछ ।

जैविक विविधताले भरिपूर्ण हाम्रा वनजङ्गल, पाखापखेराको संरक्षण हेतु समुदायलाई वन सञ्चालनमा संलग्न गराउने अभिप्रायका साथ सुरू भएको सामुदायिक वन अभियानले सार्थकता लिन खोज्दै गर्दा ‘पोल्टिक्सभित्र राजनीति’ घुस्न थालेको छ । एउटा पक्षले काठ लगेको, बिल भर्पाइमा अनियमितता गरेको र अर्को पक्षले त्यो अनियमितताको कारण राजीनामा गर्न लगाउँछ भने बुझ्नुपर्छ, त्यहाँ ‘पोल्टिक्सभित्र राजनीति’ घुसेछ भनेर । झापाको हचुमासा सामुदायिक वन एउटा पछिल्लो उदाहरण हो ।  वन उत्पादनहरुको समयोचित कटानमार्फत् स्थानीय अर्थतन्त्रमा वृद्धि गर्न सक्ने सम्भावना, रोजगारीका साथै ग्रामीणक्षेत्रमा गरिबी घटाउन सहयोग पुर्याउन सक्ने अवसर कुनै नेता र व्यक्तिगतको स्वार्थ अनि राजनीतिक टकरावका कारण जुन उपलब्धि हासिल हुनुपर्ने हो, त्यो हुन सकेको छैन ।

यिनै कारणहरुले गर्दा विद्यमान सामाजिक असमानताको जरो झन् मजबुत बनाउँदै जाने सम्भावना पनि बढेर गएको छ । हरेका कुराका सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छन् तर स्रोतको दोहन र आर्थिक फाइदामा जोड दिनाले हरियो वन नेपालको धन भन्ने उक्ति निरर्थक सावित हुन सक्छ । उचित नियम कानून र कठोर अनुगमनको अभावमा सामुदायिक वनको अवधारणा सार्थक नहुने खतरा बढेर जान्छ । नेपालमा सामुदायिक वन व्यवस्थापन दिगो वन व्यवस्थापन र स्थानीय सशक्तीकरणका लागि सम्भावना र आशाको दियोको रुपमा रहिरहन सबै पक्षको भूमिकाको खा“चो हुन्छ  । नत्र सामुदायिक वनको नेतृत्वमा रहेकाहरुका लागि शीर्षकमा उल्लेखित कथन ‘हरियो वन नेपालको धन, जता पैसा उतै मन’ ले सताउन थाल्नेछ ।