भद्रपुर । घरेलु कामदारको रूपमा राखिएकी १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटी जेल चलान भएका छन् ।
झापा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । थुनछेक बहसपछि न्यायाधीश नवीनकुमार जोशीको इजलासले शिवाकोटीलाई थुनामा राखेर अनुसन्धान गर्न सोमबार आदेश दिएको अदालतका श्रेस्तेदार किरणकुमार सिंहले जानकारी दिए ।
शिवाकोटीको स्वास्थ्य अवस्थालाई ख्याल गरी स्वास्थ्य उपचारको व्यवस्था गर्न न्यायाधीशको आदेशअनुसार झापा कारागार प्रशासनलाई पत्र पठाइएको सिंहले बताए । आइतबार शिवाकोटीसँग बयान लिइएको थियो । शिवाकोटीको पक्षमा अशोक पोखरेल, गजेन्द्र आचार्य, टङ्क उप्रेती, बालकुमार कट्वाललगायतका कानून व्यवसायीहरूले बहस गरेका थिए ।
यसअघि अदालतले शिवाकोटीलाई बलात्कार आरोपमा अनुसन्धान गर्न चार, पाँच, सात, पाँच र चार गरी २५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । नाबालिकालाई करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ परेकै दिनदेखि बी एण्ड सी अस्पतालमा राखेको थियो । उनी गत मङ्सिर २४ गते पक्राउ परेका थिए ।