धनकुटा । धनकुटा नगरपालिका वडा नं. ८ कार्यालयले परम्परामा आधारित घरेलु उद्योगलाई प्रवद्र्धन गर्ने उद्देश्यले एक महिने खाँडी कपडा बुन्ने तालिम आइतबारदेखि सुरु गरेको छ ।
स्थानीय किसानले उत्पादन गरेको कपासबाट खाँडी कपडा उत्पादन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । परम्परागत प्रविधिलाई उपयोग गर्दै नयाँ पुस्तालाई घरेलु उद्योगको सीप हस्तान्तरण गर्न तालिम आयोजना गरिएको धनपा–८ का वडाध्यक्ष रसबहादुर आठपहरियाले बताए ।
तालिमको आयोजना ‘जुगमाया आठपहरिया घरेलु उद्योग’ धनपा–८ तेत्रिदाङले गरेको छ । आयोजक संस्थाका प्रोप्राइटर जुगमाया आठपहरियाले तालिममा स्थानीय उत्पादन कपासबाट धागो कात्ने, पुला बनाउने, धागो निकाल्नको लागि टुकी बनाउने, रुवा फिटेर धागो कात्ने र तान लगाउने सीप प्रशिक्षार्थीलाई प्रदान गरिने बताइन् ।
खाँडी कपडाको तान बुन्नको लागि वडाले दिएको १ लाखले रेली धागो र लोकल कपास खरिद गरेको जुगमायाले बताइन् । जुगमाया आफै खाँडी कपडा (तान) बुन्ने तालिमको प्रशिक्षक हुन् । उनले खाँडी कपडा बुन्दा तनौटो रेली धागोमा तान लगाएर बुनौटो कपासबाट बनेको धागोले बुन्ने गरेको बताइन् ।