विराटनगर । सुनसरीको इटहरीमा केन्द्रीय कार्यालय रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरिएको छ ।
१३ हजारभन्दा बढी सर्वसाधारणको ४७ करोड ७ लाख ६६ हजार ४ सय ५९ रुपैयाँ अपचलन गरेको जनाउँदै कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयले उक्त सहकारीलाई मङ्गलबार समस्याग्रस्त घोषणा गरेको हो ।
हजारौं बचतकर्ताहरूको रकम अपचलन गरेको अम्बे कोशी सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको मन्त्रालयका सचिव डाक्टर शरणकुमार पाण्डेले जानकारी दिए । उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेर सहकारीको विषयमा अध्ययन भइरहेको उनले बताए । ‘पहिलो चरणमा हामीले अम्बे सहकारीलाई समस्याग्रस्त घोषणा गरेका छौँ’ उनले भने, ‘बाँकी समस्यामा रहेका सहकारीहरूलाई पनि क्रमशः घोषणा गरेर समस्या समाधानको पहल गर्छौं ।’
कोशी प्रदेश सरकारले गत पुस १८ गते वरिष्ठ अधिवक्ता भरतबन्धु थापाको नेतृत्वमा सङ्कटग्रस्त सहकारीको व्यवस्थापन समिति गठन गरेको थियो । उक्त समिति गठन भएको पाँच दिनपछि अम्बे सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको हो । कुनै सहकारी संस्था वा सङ्घलाई समस्याग्रस्त संस्था वा सङ्घको रूपमा घोषणा गरिएकोमा त्यस्तो संस्था वा सङ्घको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न व्यवस्थापन समिति गठन गरिएको हो ।
अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फणिन्द्र मगर पुर्पक्षका लागि कारागारमा छन् । सुब्बाले २१ लाख ४४ हजार अपलचन गरेको अदालतमा दायर भएको अभियोग पत्रमा उल्लेख छ छ ।
अम्बेमा कसले कति गरेका थिए घोटला ?
इटहरीमा केन्द्रीय कार्यालय रहेको अम्बे कोशी बचत तथा ऋण सहकारीको ४७ करोड ७ लाख ६६ हजार ४ सय ५९ रुपैयाँ अपचलनमा संलग्न रहेको आरोपमा सहकारीका अध्यक्ष फणिन्द्र मगरसहित ५६ जनाविरुद्ध सुनसरी जिल्ला अदालतमा गत पुस १२ गते मुद्दा दायर भएको थियो ।
सुनसरी अदालतले त्यसबेला सहकारीका अध्यक्ष मगर पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । जिल्ला सरकारी वकिलको कार्यालये प्रतिवादी बनाएको ५६ मध्ये केही धरौटीमा रिहा भएका छन् भने आधाभन्दा बढी व्यक्ति अझै पनि फरार छन् । मोरङको सुन्दरहरैंचा स्थायी घर भई इटहरी–४ बस्ने विष्णुमाया भन्ने सुब्बाले अम्बे कोशी सहकारीबाट विनाधितो २१ लाख ५५ हजार रुपैयाँ ऋण लिएको अभियोग पत्रमा उल्लेख छ । उक्त सहकारीमा उनले ३ लाख ८२ हजार २ सय २९ रुपैयाँ ब्याज र ५ हजार ४ सय १० रुपैयाँ बचत रहेको छ । सो सहकारीमा सुब्बाका नाममा ८३ हजार ५ सय रुपैयाँ बराबरको शेयर रहेको छ ।
एमाले केन्द्रीय सदस्य तथा सहकारी अभियानकर्मीसमेत रहेकी अमृता सुब्बाले ५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेकी छन् । सुब्बाको नाम विष्णुमाया भन्ने अमृता सुब्बा भनी उल्लेख छ । उनै सुब्बा राष्ट्रिय सहकारी महासङ्घ तथा राष्ट्रिय सहकारी बैङ्ककी सञ्चालक सदस्य पनि हुन् । उनी इटहरीमा रहेको महिला बचत तथा ऋण सहकारी संस्थाको पूर्वअध्यक्षसमेत हुन् ।
सहकारीका सञ्चालकहरू राहुल अग्रवाल १० लाख, कुमार आले र शिलादेवी गजमेर ५ लाख धरौटी बुझाएर छुटेका छन् । सागर राई १५ लाख, टेकबहादुर चर्मकार ३ लाख, विमला चौधरी मैनाली १ लाख, सुजन चौधरी २ लाख र सागर चौधरी ७ लाख धरौटी बुझाएर छुटेका छन् । यस्तै आशिका राई २ लाख, कृष्णबहादुर कट्वाल ३ लाख ५० हजार, तारामान सिरेङ लिम्बू २ लाख र चन्द्रकुमार गेलाल १ लाख धरौटी बुझाएर छुटेका छन् ।
यसैगरी तारा राई १ लाख ६५ हजार, भूमिप्रसाद आचार्य १ लाख, खड्ग कोइराला ५ लाख, शम्भु दाहाल १ लाख ९५ हजार, चूडामणि निरौला १ लाख ७० हजार र भूवनकुमार राउतले १ लाख ५० हजार धरौटी बुझाएका छन् । सहकारीले मोरङको विराटनगर, विराटचोक र झापाको दमक गरी ३ स्थानमा सेवा केन्द्रसमेत राखेर कारोबार गर्दै आएको थियो ।
यी अझै फरार सूचीमा
अम्बे कोशी सहकारीमा एक दर्जन बढी अझै फरार सूचीमा रहेका छन् । फरार सूचीमा देवेन्द्र बस्नेत, मीनकुमार मगर, भोजकुमार पुलामी मगर, किरण आले, हीराकुमारी मगर, बद्रीप्रसाद रेग्मी, नगेन्द्र गुरुङ, सुमन भण्डारी रहेका छन् ।
यस्तै अमित राई, लीला खड्का, अशोक राई, एकराज पहाडी, धनबहादुर मगर, धनुषा पराजुली (बस्नेत) भन्ने धनकुमारी पराजुली, दीपेश राई, क्षितिज राई र कोरवर्टकुमार श्रेष्ठ पनि फरार रहेका छन् ।
यसैगरी सम्झना कार्की, रमेश पौडेल, टीकाराम भट्टराई, हरिबहादुर खड्का, मनोज अधिकारी, नवीन पौडेल, रामप्रवेश शाह, यशोदा पौडेल, रुद्रबहादुर पौडेल, पशुपति श्रेष्ठ, पूर्णबन्धु न्यौपाने, शान्ता पौडेल, हेमु श्रेष्ठ, गङ्गाचरण शाह तेली, सुनिता समाल मगर, विष्णुकुमार विक र लीला कार्की पनि फरार छन् ।