धरान । सुनसरीको कोशी गाउँपालिका–८ स्थित सप्तकोशी मा.वि.ले शैक्षिक सत्र २०८०/०८१ मा दिनुपर्ने छात्रवृत्ति रकम अपचलन गरे पनि सम्बन्धित गाउँपालिका कोशीले कुनै ‘एक्सन’ लिएको छैन ।

एक स्रोतका अनुुसार फर्जी बिल भर्पाइ पेस गरी रकम अपचलन गरेको जनाएको छ । स्कुलका तीन सय ४० जना विद्यार्थीलाई चार सय रुपैयाँका दरले दिनुपर्ने छात्रवृत्ति रकम ९ महिना बितिसक्दा पनि गाउँपालिकाले एक्सन नलिएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (ज) को १६ मा निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापनको जिम्मा नगरलाई तोकेको छ । सोही दफाको (ज) को २१ मा सामुदायिक विद्यालयलाई दिने अनुदान तथा सोको बजेट व्यवस्थापन, विद्यालयको आय–व्ययको लेखा अनुशासन कायम, अनुगमन र नियमन गर्न सकिने व्यवस्था उल्लेख छ । तर गाउँपालिकाले सशर्त अनुदान रकमबारे हालसम्म चासो नदेखाएको हो । ‘हामीले भर्खरै थाहा पायौँ, बुझ्छौँ, त्यसपछि मात्रै के रहेछ भनेर कारबाही प्रक्रिया अगाडि बढ्छ’–गाउँपालिकाका प्रमुख ऐयुव अन्सारीले फोनसम्पर्कमा भने । 

के कति कारणले छात्रवृत्ति रकम नदिइएको हो भनेर हालसम्म गाउँपालिकाले ताकेता नगर्दा स्कुल प्रशासनले मनमौजी रकम खर्चिएको छ । गाउँपालिकाले चासो नदिँदा त्यहाँका विद्यार्थीहरूले पाउनुपर्ने रकम पाउन सकेका छैनन् । अभिभावकहरूले यसअघि ब्लाष्टकर्मीलाई भनेका थिए, ‘हाम्रा विद्यार्थीहरूले अहिलेसम्म छात्रवृत्ति पाएका छैनन् । हेडसरलाई सोध्दा कुनै जवाफ आउँदैन ।’ गाउँपालिका प्रमुख अन्सारीले आफूहरूले यसबारे तीन–चार दिनअघि मात्रै थाहा पाएकाले बुझ्ने काम भइरहेको बताए । स्कुलले छात्रवृत्तिमार्फत्को एक लाख ३६ हजार आठ सय रुपैयाँ अपचलन गरेको छ । प्रमुख प्रशासकीय अधिकृत दामोदर दाहाललाई यसबारे बुझ्दा ‘त्यो विषय अनियमित भयो भने अख्तियार जाँदा भो नि त’ भनी जवाफ फर्काएका छन् ।

‘म फिल्डमा निस्केको छु । शिक्षा शाखाका मदन पाण्डे र बाबुराम कार्कीलाई बुझ्नुस्’ उनले भने, ‘अनियमित भयो भन्ने लाग्छ भने अख्तियारमा पुग्ने हो ।’ यस विषयमा बुझ्न शिक्षा शाखाका अधिकारीहरूलाई मोबाइल तथा टेलिफोनबाट पटक–पटक फोन गरे पनि फोनसम्पर्कमा आउन चाहेनन् । यता स्कुलका प्रधानाध्यापक कैलाश झालाई यसबारे थप कुरा बुझ्नका लागि फोन गरिएको थियो । उनले पनि फोन उठाउने कष्ट गरेनन् । यसअघि ब्लाष्टसँगको फोनसम्पर्कमा उनले विद्यालय व्यवस्थापन समितिको निर्णयमा रकमान्तरण गरेर स्कुलका निजी शिक्षक र कर्मचारीलाई तलब वितरण गरेको दाबी गरेका थिए ।

तर, रकमान्तर गर्ने निर्णय गरेको पत्र ‘ब्लाष्टलाई उपलब्ध गराउन’ आग्रह गर्दा प्रअ झाले हालसम्म उपलब्ध गराउन सकेका छैनन् । स्थानीय तहहरूमा कार्यरत शिक्षा शाखाका प्रमुखहरूलाई छात्रवृत्ति रकमबारे बुझ्दा छात्रवृत्ति रकम सशर्त अनुदानअन्तर्गत पर्ने भएकाले उक्त रकम जेमा खर्च गर्नू भनिएको हुन्छ सोभन्दा अन्यत्र खर्च गर्न नपाइने व्यवस्था रहेको बताए । विद्यार्थीहरूलाई आएको रकम सम्बन्धित विद्यार्थीको नाममा नै हुने भएकाले अन्य विद्यार्थीलाई दिन पनि नमिल्ने उनीहरू बताउँछन् ।

यता गाउँपालिकाका प्रमुख अन्सारीले भने, ‘पैसा सिधै विद्यालयको खातामा जाने हो । हेडमास्टरहरूले बेलैमा कार्यक्रम गरेर वितरण गर्नुपर्छ । त्योबारे हामीले भर्खरै थाहा पायौँ ।’ उनले निजी शिक्षक तथा कर्मचारीको हकमा गाउँपालिकालाई समस्याबारे जानकारी गराउनुपर्ने बताए । स्थानीय सञ्चारकर्मी देवराज यादवले मङ्गलबारसम्म छात्रवृत्ति रकम दिएको भन्ने आफूले थाहा नपाएको बताए । उनले फोनसम्पर्कमा भने, ‘दाइ, अहिलेसम्म रकम दिएको रैनरैछ ।’ उक्त रकम शिक्षकलाई तलब खुवाए नखुवाएको पनि हालसम्म पुष्टि हुन सकेको छैन । सोही क्षेत्रमा काम गरेर हालै सरुवा भएका एक कर्मचारीले भने, ‘छात्रवृत्तिको पैसा नै प्रअले निकालिसकेको छ । हाल खातामा पैसा पनि नभएको र बालबालिकाले छात्रवृत्ति पनि नपाएको अवस्था छ ।’ उनले थप भनेका छन्, ‘फर्जी भर्पाइ पेस गरेको छ । शिक्षक सङ्ख्या फालाफाल छ । शिक्षकलाई दिनुपर्दैन ।’ सोही विद्यालयमा कार्यरत एक शिक्षकले पनि हालसम्म छात्रवृत्तिको रकम वितरण नगरेको बताए ।