धरान । सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा आज (बिहीबार)बाट ‘धरान एक्स्पो’ सुरु हुँदै छ । सङ्घका अध्यक्ष विजय श्रेष्ठले बुधबारको पत्रकार सम्मेलनमा भने, ‘धरान एक्स्पोको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।’
उनले एक्स्पोमा १० करोड रुपैयाँ बराबरको कारोबार गर्ने जनाए । एक्स्पोले आर्थिक चलायमान बनाउने उद्देश्य राखेको छ । उवासङ्घ सुनसरीले प्रत्येक वर्ष एक्स्पो लगाउँदै आएको छ । उनले भने, ‘देश आर्थिक मन्दीमा फसेको छ । अझ धरान त झनै समस्यामा छ । धरानको आर्थिक अवस्थालाई चलायमान बनाउन एक्स्पो लगाइएको हो ।’
एक्स्पोलाई चुस्त बनाउनका लागि पाँच सय १ सदस्यीय विभिन्न उपसमितिहरू गठन गरिएको छ । एक्स्पोमा नेपालसहित भारत, बङ्गलादेश, पाकिस्तानका व्यापारीहरूको पनि स्टल रहने स्टल व्यवस्थापन संयोजक विष्णु बरालले बताए । बङ्गलादेशबाट कपडाका सामग्रीहरू ल्याइएको छ भने पाकिस्तानबाट लेदर (छाला)का सामग्रीहरू बिक्रीका लागि राखिएका छन् । अन्यभन्दा केही सस्तो र सुलभ दरमा प्राप्त गर्न सकिने जनाइएको छ । एक्स्पोमा १ सय ६४ वटा स्टल छन् । १० दिनको एक्स्पोमा ५० लाख पर्यवेक्षक आउने अनुमान गरिएको छ ।
धरानको रङ्गशालाको तल्लोपट्टि लाग्ने एक्स्पो माघको पहिलो सातासम्म सञ्चालन हुनेछ । एक्स्पोको उद्घाटन उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले गर्ने कार्यक्रम तय भएको समुद्घाटन कार्यक्रम संयोजक वर्षा अग्रवाल श्रेष्ठले बताइन् । एक्स्पोमा कृषि उत्पादन, हस्तकला, घरेलु सामग्रीहरूका स्टलहरू रहनेछन् ।
यस्तै मनोरञ्जन कार्यक्रमका लागि स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ । यस्तै यसपटक साहित्यिक कार्यक्रम पनि गर्न लागिएको छ । एक्स्पोका संयोजक गोपाल श्रेष्ठले धरानमा व्यापारिक गतिविधि बढाउनका लागि एक्स्पो लगाइएको बताए । उनले किनमेल र मनोरञ्जनको थलोको रूपमा विकास गर्ने उद्देश्य रहेको बताए । स्थानीयस्तरका उत्पादनलाई प्रवर्धन गर्ने एक्स्पोको मुख्य उद्देश्य रहेको छ ।