विराटनगर । ठगीको आरोप लागेका नेकपा (एमाले) मोरङका सदस्य अनिलकुमार पोखरेल पक्राउ परेका छन् ।

प्रहरीले ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा मोरङ अदालतबाट पक्राउको अनुमति लिएको तीन दिनपछि पोखरेल आफै बिहीबार बिहान मोरङ प्रहरीमा उपस्थित भएका हुन् ।

सोमबार पोखरेलविरुद्ध मोरङ अदालतले प्रहरीलाई पक्राउको अनुमति दिएको थियो । त्यसपछि उनलाई पक्राउको लागि सादा पोसाकमा प्रहरी टोली परिचालन भएको थियो । प्रहरीले पक्राउ अनुमति लिँदा उनी काठमाडौंमा थिए । ‘त्यसपछि उनलाई पक्राउको लागि उपत्यका प्रहरी परिसर काठमाडौंसँग पनि समन्वय भइरहेको थियो । त्यहीबेला उनको फोन ट्रयाक गर्दा लोकेसन विराटनगर देखाएको थियो । त्यसपछि उनलाई पक्राउ गर्ने तयारी गर्दै गर्दा उनी आफै प्रहरीमा हाजिर भएको पक्राउमा खटिएका एक प्रहरी अधिकृतले जानकारी दिए । पक्राउको लागि प्रहरी परिचालन भइरहँदा अदालतको आदेशलाई सम्मान गर्ने र प्रहरीलाई अनुसन्धानमा सहयोग पुर्याउने भन्दै उनी मोरङ प्रहरीको सम्पर्कमा आएका हुन् ।

प्रहरीले त्यसपछि उनलाई नियन्त्रणमा लिएर दिउँसो २ बजे सरकारी वकिलको कार्यालयमा उपस्थित गराएर मोरङ अदालतमा म्याद थप गरिएको छ । अदालतले पाँच दिनको म्याद थप गरी प्रहरीलाई  अनुसन्धान गर्न अनुमति दिएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

सप्तरी घर भएका बौआलाल चौधरीको छोरीलाई एमबीबीएसमा नाम निकालिदिने भनेर विश्वासमा पारी २०७१ देखि ०७३ का बीचमा पटक–पटक गरेर ३८ लाख ८० हजार रुपैयाँ चेकमार्फत् अनिलले ठगी गरेको आरोप छ । सो रकम लिएपछि चेकको अधकट्टीमा हस्ताक्षर गरेर बौआलालको छोरीलाई नाम निकाल्ने जिम्मा लिएका थिए । पछि नाम ननिस्केपछि पैसा फिर्ता माग्दा उल्टै अनिलले २०७४ असार २५ गते आइतबारको मिति राखेर कपाली लिखतमा ऋणी बनाई ५० लाख रुपैयाँको कागज बनाएर जबरजस्ती हस्ताक्षर गराएका थिए । त्यसपछि बौआलाल ५० लाख ऋणको लिखत बदर गरी आफ्नो ३८ लाख ८० हजार रकम फिर्ता गराइदिन र अनिलमाथि कानूनी कारबाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालय रङ्गेली पुगे ।

प्रहरीले निवेदन दर्ता गर्न अस्वीकार गर्यो । त्यसपछि उनी जिल्ला प्रहरी कार्यालय मोरङ पुगे, त्यहाँ पनि जाहेरी दर्ता भएन । बौआलाल जिल्ला सरकारी वकिलको कार्यालय पुग्दा पनि जाहेरी दर्ताका लागि प्रहरीलाई आदेश दिइएन । बौआलालले २०७९ साउन १८ मा हुलाकबाट प्रहरीलाई जाहेरी पठाए । प्रहरीले हुलाकबाट आएको पत्र बुझे पनि ठगीमा अनुसन्धान अघि बढाएन । त्यसपछि बौआलाल अनिलमाथि ठगीमा अनुसन्धान गर्नका लागि प्रहरी र वकिल कार्यालयका नाममा परमादेश जारी गरिपाऊँ भनेर उच्च अदालत पुगेका हुन् ।

उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको इजलासले ३१ भदौमा अनिलविरुद्ध जाहेरी दर्ता गरी कानूनअनुसार अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई आदेश दिएको छ । आदेशको पुस ११ गते प्रमाणीकरण भएको छ । प्रमाणीकरण भएपछि अदालतले गरेको फैसलाको पूर्णपाठसहितको जानकारी प्रहरीमा पुगेपछि अनुसन्धान प्रक्रिया अघि बढेको हो ।