धरान/नेपाल गजल प्रतिष्ठान शाखा सुनसरीले शनिबार धरानमा आयोजना गरेको ‘गजल साँझ’मा काठमाडौँका गजलकार मानन्धर अभागी कार्यक्रमको सुरुवातमै यसरी शेरमार्फत अगाडि बढे ।
थाहा नै नदिई चलेछ कताकता
अचानक यो दिल जलेछ कताकता
उनका गजलका शेरहरू अगाडि बढिरहँदा मञ्चाभिमुख रहेका अन्य स्रष्टा तथा स्रोता मन्त्रमुग्ध बने । धराने स्रष्टा तथा स्रोताले धेरै पछि गजलको महफिल महसुस गरे । गजलकै लागि आमन्त्रित अभागीले चरण चरण गरी १० वटा गजलमा लय हाले । एकै दिन तीन–तीनवटा साहित्यिक कार्यक्रममा सहभागी भएका स्रष्टाहरू गजल साँझमा रमाए ।
धरानमा धेरैपछि गजल साँझको वातावरण तयार पारेका प्रतिष्ठानका अध्यक्ष परिक्रमा श्रेष्ठ स्वयम्ले पनि १० वटा गजल प्रस्तुत गरे । धरानमा हुने धेरैजसो साहित्यिक कार्यक्रममा गजल बाचन गर्न मञ्चमा उभिने गजलकार परिक्रमाको चोटिलो गजलमा स्रोता तथा स्रष्टाले ‘वाह !’ भनी सम्बोधन गर्दा थप विस्फारित बने ।
दुई गजलकारका गजलमाथि तथा गजलको औचित्यमाथि प्रतिष्ठानका पूर्व अध्यक्ष एकु घिमिरेले टिप्पणी गरे । मोतीराम भट्टदेखि आजसम्म आइपुग्दा गजलका आयामहरू पनि फेरिँदै आएको स्रष्टा एवम् टिप्पणीकार घिमिरेले बताए । शृङ्गारिक रस हुँदै आजका दिनमा नवरसकै प्रयोग हुँदै आएको उनको भनाइ थियो । गजलमा सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक मुद्दाहरू हुँदै आजका दिनमा नारीवादी दृष्टिकोणहरू पनि गजलमा आउन थालेको उनले बताए । कार्यक्रमको सञ्चालन गजलकार रोम ढुङ्गेलले गरे ।