इनरुवा । सडक दुर्घटनापछिको सम्भावित घटनाक्रम र परिदृश्यलाई लक्षित गरी सुनसरीमा संयुक्त भीड नियन्त्रणको अभ्यास गरिएको छ ।

जिल्ला सुरक्षा समिति सुनसरीको आयोजनामा सदरमुकाम इनरुवाको खेलमैदानमा भीड एवम् दङ्गा नियन्त्रण तथा कफ्र्यु आदेशसम्बन्धी संयुक्त अभ्यास प्रदर्शनी गरिएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका साथै प्रदेश प्रहरी प्रमुख राजन अधिकारी, सशस्त्र प्रहरी बल नेपाल बराह बाहिनी पकलीका एसएसपी मनिष थापालगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीसहितको उपस्थितिमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले संयुक्त अभ्यास प्रदर्शनी गरेको हो ।

प्रदर्शनीका क्रममा सवारी साधनको ठक्करबाट साइकलयात्रीको मृत्युको घटनालाई परिकल्पना गरिएको थियो । मृत्युपश्चात् एकत्रित हुने आफन्त तथा आक्रोसित भीडले निम्त्याउने झडप र तोडफोडलाई अभ्यासमा समेटिएको थियो । सो क्रममा भीडले सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्याउने गरी गर्ने आगजनी तथा सुरक्षाकर्मीले अपनाउने कफ्र्युसम्मका कानूनी कारबाहीको प्रक्रिया समावेश गरिएको थियो ।

अभ्यासका क्रममा भीड अनियन्त्रित बन्दै जाँदा तत्कालीन अवस्थालाई साम्य पार्न प्रहरीसहित सुरक्षाकर्मीले प्रारम्भदेखि खेल्ने भूमिका र परिस्थिति नियन्त्रणबाहिर जाँदा शान्तिसुरक्षा कायम गर्न अपनाइने कानूनी कारबाहीको प्रक्रियालाई दर्शाइएको थियो । स्थानीयका साथै विद्यार्थीलगायतले नजिकबाट नियालेको उक्त भीड एवम् दङ्गा नियन्त्रण अभ्यास कार्यक्रमलाई जिल्ला सुरक्षा समिति सुनसरीका संयोजक प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र र कोशी प्रदेश प्रहरी प्रमुख राजन अधिकारीले सम्बोधन गरेका थिए । प्रदेश प्रहरी प्रमुख राजन अधिकारीले कोशी प्रदेशभर परिआउने जस्तोसुकै अवस्थाका बीच कानून कार्यान्वयनको पाटोमा सबै सुरक्षा संयन्त्र एकसाथ अघि बढ्न तयार रहेको बताए ।

प्रजिअ मिश्रले संयुक्त अभ्यासले जिल्लाका सबै सुरक्षा संयन्त्रको उचित बन्दोबस्ती र तयारीलाई दर्शाएको बताए । उनले जिल्लामा कुनै पनि अप्रिय घटना हुन पुगे शान्तिसुरक्षा कायम गर्ने सवालमा परिचालनका लागि मातहतका सबै सुरक्षा निकाय तयारी अवस्थामा रहेको बताए । यसैबीच जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारीअनुसार खनारमा बसको ठक्करबाट बालिकाको मृत्युपश्चात् तोडफोड र आगजनीमा संलग्न उपर कारबाही चलाइएको छ ।

प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार बससहित सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनीमा संलग्नहरूको पहिचान गरी क्षतिपूर्ति भराउने प्रक्रिया अघि बढाइएको छ । एसपी तिम्सिनाले भने, “१२ जनाको पहिचान गरी कारबाही चलाइएको छ । अब उनीहरूले बसका साथै क्षति पु¥याएका संरचनाको क्षतिपूर्तिबापत ठूलो रकम व्यहोर्नु पर्नेछ । अन्यथा जेल भोग्नु पर्नेछ ।”

एसपी तिम्सिनाले भने, “कुनै पनि दुर्घटना वा घटना भए अबाञ्छित गतिविधिमा संलग्नहरूलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिनेछ । तत्कालै नियन्त्रणमा लिई कारबाही अघि बढाउने अवस्था नरहेमा फोटो र भिडियोका आधारमा संलग्नहरूको पहिचान गरी निजहरूको हकमा कानूनी कारबाहीको प्रक्रियालाई अघि बढाइनेछ ।”