विराटनगर । म्याद सकिएको ‘न्युट्रास्युटिकल’ ९खाद्यपूरक० सामग्रीमा नयाँ उत्पादन मिति राखेर बिक्री वितरण गर्दै आएका न्युट्रास्युटिकल एसोसिएसन मोरङका अध्यक्ष विपिन झाले राजस्व अनुसन्धान कार्यालय इटहरीले गरेको आदेशलाई अवज्ञा गरेको पाइएको छ । 

प्रहरी र राजस्व अनुसन्धान कार्यालयले छापा मारेर झाको घरबाट ठूलो परिमाणमा बजार पठाउन लागेको म्याद सकिएको खाद्यपूरक सामग्री आइतबार बरामद गरेको थियो । झाको विराटनगर–६ बीएफएम पूर्व तीन तलाको आफ्नै घरको तीनवटा गोदाममा म्याद सकिएका न्युट्रास्युटिकलको लेभल मेटाएर पुनः नयाँ उत्पादन मिति राखेर बिक्री वितरण गरेको भेटिएपछि राजस्व अनुसन्धान कार्यालयले सोमबार कार्यालयमा उपस्थित हुन पत्राचार गरेको थियो । तर, उनले राजस्व अनुसन्धान कार्यालयले गरेको आदेशलाई अवज्ञा गरेको पाइएको हो ।

‘म्याद सकिएको खाद्यपूरक सामग्री बरामद गरेपछि हामीले तीनवटा गोदाम शिलबन्दी गरेर सोमबार १० बजे कार्यालयमा हाजिर हुन पत्राचार गरेका थियौं । तर, कार्यालयमा उपस्थित भएका छैनन्’ राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख उत्तमकुमार घिमिरेले भने, ‘सिल खोलीपाउँ भनेर निवेदन हालेपछि आइतबार गरिएको शिलबन्दी खोलेर अनुसन्धान प्रक्रिया अगाडि बढ्ने हो । तर अनुसन्धानलाई सहयोग गरिएको देखिएन ।’

झाले सामान बोक्न प्रयोग गरेको बीआर ३८ एजी ४५४० नम्बरको भारतीय कार र त्यसका चालक भारतीय नागरिक हरि रामलाई नियन्त्रणमा लिएको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख घिमिरेले बताए । राजस्वले नियन्त्रणमा लिएको कार र चालकलाई झाको घरबाट नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको कारको ब्लुबुक पनि नभएको र नेपाल प्रवेश शुल्क नबुझाई प्रयोग गरिरहेकोले चोरीको गाडी हुनसक्ने आशङ्काले नियन्त्रणमा लिएको बताइएको छ । २२ लाख मूल्याङ्कन गरिएको कार भन्सार स्वीकृत नगरी चोरी–पैठारी गरी ल्याएको हुनसक्ने भएकाले अनुसन्धानको लागि नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ । नियन्त्रणमा लिएको कारमा तस्करी गरी ल्याएको खाद्यपूरक सामग्री बोक्ने गरेको बुझिएको छ । ‘हामीले यस विषयमा पनि अनुसन्धान सुरु गरेका छौँ’ उनले भने, ‘झाले खरिद गरेको प्रज्ञापन–पत्र र सम्पूर्ण कागजपत्र ल्याएपछि कति राजस्व छली गरेको हो त्यो खुल्नेछ ।’

न्युट्रास्युटिकल एसोसिएसन मोरङका अध्यक्ष झा म्याद सकिएको खाद्यपूरक सामग्रीमा नयाँ उत्पादन मिति र लेभल लगाएर आफैले बिक्री गर्ने गरेको प्रहरीले बताएको छ । झाले न्युट्रास्युटिकल बजार पठाउनको लागि तीन तलाको घरको भूइँ र दोस्रो तला गरी तीनवटा कोठालाई गोदाम बनाएर राखेका छन् । उक्त गोदाममा १४ भन्दा बढी प्रकारका न्युट्रास्युटिकल र अन्य विभिन्न कम्पनीका मल्टिभिटामिनहरू फेला परेको थियो । प्रहरीले खाद्यपूरक सामग्रीमा छाप लगाउने ४० वटा स्ट्याम्प पनि बरामद गरेको छ । उनको साक्षी मेडिलिङ्कमार्फत् भारतबाट न्युट्रास्युटिकल सस्तोमा ल्याउने र यहाँ ल्याएपछि आफूले खरिद गरेकोभन्दा दशगुणा बढी मूल्य तोकेर बजार पठाउने गरेको पाइएको हो ।

न्युट्रास्युटिकलका अध्यक्ष झाले विराटनगरसहित पूर्वका विभिन्न सहरहरूमा न्युट्रास्युटिकल सप्लायर्स गर्दै आएका छन् । उनले सबैभन्दा बढी विराटनगरको जलजला मोडमा रहेको अलट फार्मेसीले झाको सप्लायर्सबाट न्युट्रास्युटिकल आयात गर्ने गरेका छन् । केही समयअगाडि मात्रै झाले अटल फार्मेसीलाई ठूलो परिमाणमा खाद्यपूरक सामग्री बिक्री गरेको बताएका छन् । ‘झाले अटललाई दिएको खाद्यपूरक सामग्री पनि म्याद सकिएर नयाँ स्टिकर टाँस गरी पठाएको भन्ने खुल्न आएको छ । यस विषयमा हामीले अनुसन्धान सुरु गरेका छौं’ –अनुगमनमा पुगेका एक अनुसन्धान अधिकृतले भने । स्वास्थ्य क्षेत्रका जानकारले दिएको जानकारीअनुसार झाले भारतमा ५० रुपैयाँ पत्तामा खरिद गर्ने न्युट्रास्युटिकल यहाँ ल्याएर आफै मूल्य तोकेर प्रतिपत्ता पाँच सय रुपैयाँसम्ममा बिक्री गर्दछन् ।
car