धरान । कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको ‘धरान प्लस टु अरेटरी(वक्तृत्वकला) च्यालेन्ज’ मा १७ जना प्रतिस्पर्धी सेमीफाइनलमा प्रवेश गरेका छन् ।

मङ्गलबार धरानमा सम्पन्न पहिलो अडिसनबाट १७ जना प्रतिस्पर्धी सेमीफाइनलमा प्रवेश गरेका आयोजक र्याडिकल लाइट नेपाल प्रा.लि.का अध्यक्ष तीर्थ कार्कीले जानकारी दिए । उनका अनुसार पूजा लम्साल, लाक्पा तामाङ, आयु कटवाल, चन्द्रकला राई, सोनिया नेपाली, सृष्टि लुइँटेल, राज कट्टेल, आकृति शङ्कर, देवका कार्की, खुश्वु शर्मा, बालकुमार राई, यसन राई र अनिशा श्रेष्ठ सेमीफाइनलमा पुगेका हुन् ।

यस्तै क्याथ्रिन योन्जन, दिपिशा राई, अदिती झा, स्मृति लिम्बू रहेका छन् । उनीहरू धरानका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी हुन् ।
उनीहरूलाई ‘बढ्दो भ्रष्टाचारले देश विकासमा पार्ने असर’ शीर्षक दिइएको थियो । उक्त शीर्षकमा निर्णायकद्वय महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक राजेश विद्रोही र सहिद स्मृति मा.वि.का शिक्षक टङ्क भट्टराईले निर्णय सुनाएका थिए ।