धरान । काठमाडौँका घरजग्गा कारोबारी नुवाकोट ककनी गाउँपालिका–६ का ३५ वर्षीय विक्रम लामामाथि गत कात्तिक ११ गते भएको आक्रमणको घटनामा मुख्य योजनाकारको रूपमा सुनसरी धरान उपमहानगरपालिका–१३ की लक्ष्मी राई जोडिएकी छन् ।

चार दिनपछि होस खुलेका पीडित लामाले लक्ष्मीको योजनामा आफूमाथि आक्रमण भएको बयान दिएपछि उनको ‘कनेक्सन’ देखिएको हो । उनीमाथि काठमाडौँ लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा कार पार्क गरेर निस्कँदै गर्दा चारजना युवकहरूले रडले अन्धाधुन्ध आक्रमण गरेका थिए । उक्त आक्रमणबाट उनी गम्भीर घाइते बन्न पुगेका थिए । उक्त समयमा चरण चरण गरी युवाहरूले आक्रमण गरेका थिए । आक्रमणमा परेका उनको चार दिनपश्चात् मात्रै होस खुलेको थियो । उनी हाल पनि नियमित फलोअपमा रहेका छन् । पीडित लामाको उजुरीका आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।

यस्तो रहेछ कनेक्सन
घटनाका मुख्य योजनाकार रहेकी लक्ष्मी पीडित लामाका पूर्व भाउजू रहेको खुलेको छ । लामाका दाजु दिपेश लामासँग सन् २०१४ मा बेलायतमा रहँदा नै बिहे गरेकी थिइन् । दिपेश बेलायतमै व्यवसाय गर्दै आएका थिए । ५० वर्षीया लक्ष्मी विवाहपश्चात् पनि बारम्बार नेपाल आउने गरेकी थिइन् ।

नेपाल आउजाउको क्रममा दाइ दिपेशले कमाएको सम्पत्ति हिनामिना गर्नमा भाउजू लक्ष्मीको हात रहेको सुइँको पाएपछि पीडित लामाले दाइलाई जानकारी गराएका थिए । उनले बयानमा भनेका छन्, ‘दाइसँग विवाह भए पनि भाउजूको नेपाल आउजाउ बाक्लै हुन्थ्यो । दाइले कमाएको सम्पत्ति हिनामिना भएको थाहा पाएपछि दाइलाई जानकारी गराएको थिएँ ।’ सोही विषयले दाइ र भाउजूको सन् २०२२ मा सम्बन्ध विच्छेद (पारपाचुके) भएको थियो । सम्बन्ध विच्छेदमा आफ्नो हात भएको भन्दै पूर्व भाउजू लक्ष्मीले पटक पटक आफूलाई ज्यान मार्ने धम्की दिँदै आएको विक्रमले प्रहरीमा बयान दिएका छन् ।

सोही घटनाको कारण नै आफूमाथि ‘टार्गेट’ गरी योजनाबद्धरूपमा आक्रमण गरेको बयान दिएका छन् । उनकै बयानका आधारमा काठमाडौँस्थित जिल्ला प्रहरी कार्यालयले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएपछि घटना भएको तीन महिनापश्चात् अदालतमा मुद्दा दायर भएको छ । सात जनालाई प्रतिवादी बनाई मुद्दा दायर गरिएको थियो । लक्ष्मी घटना हुनुपूर्व बेलायतबाट नेपाल आएकी थिइन् । घटनाको मुख्य योजना महाराजगञ्जमा बनाइएको प्रहरीले जनाएको छ ।

घटनामा को को छन् प्रतिवादी?
काठमाडौँस्थित जिल्ला प्रहरी कार्यालयले अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले सोमबार अदालतमा मुद्दा दर्ता गराएको हो ।

उक्त आक्रमण घटनामा मुख्य योजनाकारका रूपमा लक्ष्मीका अलावा हालका श्रीमान् धादिङ ज्वालामुखी गाउँपालिका–४ का रमेश सिलवाल छन् । त्यसबाहेक नुवाकोट ककनी गाउँपालिका–४ का अजय लामा, बेलकोटगढीका शैलेन्द्र तामाङ, गोरखाको आरूघाट गाउँपालिका–७ का दीपक बरामु, गोरखाकै गण्डकी गाउँपालिका–४ का निश्चल सुनार छन् । यस्तै गोरखा आरूघाटका सिजन अधिकारी छन् ।

प्रतिवादीमध्ये हाल लक्ष्मी, रमेश, दिपक र अजय फरार छन् । बाँकी तीनजना भने प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घटना गराउनमा रमेशले अजयलाई सुम्पेका थिए । अजयकै योजनामा आक्रमण गरिएको थियो ।