धरान । सुनसरीको धरान उपमहानगरपालिका–१० पुतलीलाइनबाट दुई महिलालाई प्रतिबन्धित औषधि कारोबार गरेको आरोपमा पक्राउ गरिएको छ ।

स्थानीय एक घरमा डेरा गरी बस्ने २७ वर्षीया मनिका विकलाई विभिन्न नामका प्रतिबन्धित औषधिसहित नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गोप्य सूचनाका आधारमा बुधबार उनको कोठामा खानतलासी गर्दा सुत्ने बेडमाथि राखेको कालो सुटकेसभित्र २५ सय क्याप्सुल प्रतिबन्धित औषधि बरामद गरिएको छ ।

सोही कोठामा बस्ने ३८ वर्षीया रेनुका लिम्बूलाई पनि प्रहरीले पक्राउ गर्न सफल भएको छ । इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर कोमल ठाकुरको नेतृत्वमा खटिएको टोलीले दुवैलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।