विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ की ४१ वर्षीया राजकुमारी राईले मिटरब्याजमा ११ वर्षअगाडि लिएको ५० हजार रुपैयाँ ऋण अहिले उनलाई गलपासो बनेर आएको छ ।
फूलको व्यापार गर्दै आएकी राईले ०६९ मा भाइ धनबहादुरलाई वैदेशिक रोजगारीमा मलेसिया पठाउनको लागि पथरीशनिश्चरे–८ की धनमाया राईसँग ५० हजार रुपैयाँ ऋण लिएकी थिइन् । ५० हजार ऋणको ब्याज १५ दिनमा पाँच हजार रुपैयाँ बुझाउँदै आएको उनी बताउँछिन् । २०७६ सालसम्मा उनले ऋण लिएको धनमायालाई ५० हजारको साँवा र ब्याज गरेर २५ लाख रुपैयाँ दिइसकेको राजकुमारीको भनाइ छ । अझै ९ लाख रुपैयाँ दिनुपर्ने भन्दै धनमायाले दिनरातको टर्चर दिने गरेको उनले सुनाइन् । ‘५० हजार रुपैयाँ लिएको ऋणको ब्याज १५ दिनमा ५ हजार रुपैयाँ दिने गरेको थिएँ । ब्याज तिर्न नसकेपछि सावाँमा गाभ्ने गरेको थियो । त्यसपछि १ लाखको १० हजार ब्याज हुन थाल्यो । फूलको पसल गर्दै आएको थिए । ६ वर्षमा मैले २५ लाख दिइसकेँ । अझै ९ लाख दिनुपर्ने भन्दै अहिले दिनहँु धम्की आउने गरेको छ । गाउँमा मिटरब्याजमा ऋण लगाउने धनमाया र उनका केटाहरूको गाली सहन नसकेपछि गाउँको भद्रभलाद्मीलाई भनेर जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिन आएका छौं’ जिप्रकामा भेटिएकी राजकुमारीले भनिन्, ‘गाउँमा मिटरब्याजको आतङ्कले सहन नसक्ने भयौं । हामीलाई न्याय दिलाइदिन हामी पीडितहरू प्रशासनमा आएका हौँ ।’
यसरी मिटरब्याजमा लगानी गर्ने पथरीकी धनमाया राईबाट पीडित भएर आएकी राजकुमारी मात्रै होइन् । उनीसँगै आएकी अर्का पीडित पथरीकी लीलावती राईको पनि समस्या उस्तै छ । उनले पनि धनमायासँग एक लाख रुपैयाँ ऋण लिएकी थिइन् । एक लाखको १९ लाख रुपैयाँ दिइसक्दा पनि अझै सावाँ र ब्याज तिनुपर्ने भन्दै धम्की दिने गरेको गुनासो गरिन् । ‘विभिन्न मितिमा ऋण लिएको १ लाखको २९ लाख रुपैयाँ बुझाइसकेँ । धनमायाले उल्टै खाली चेक लगेर १२ लाख ६० हजार तिर्नुपर्ने देखाउँदै अहिले चेक बाउन्सको मुद्दा हाल्नुभएको छ’–पीडित लीलावतीले भनिन् ।
लेनदेनको कागज नदेखिए पनि लीलावतीले मनमायालाई चेक दिएका थिए । ऋण लिँदा ग्यारेन्टीका लागि दिएको ब्ल्याङ्क चेकमा धनमायाले मनलाग्दी रकम भरेर आफूलाई फसाएको उनको भनाइ छ । धनमायाबाट पथरीशनिश्चरेका राजकुमारी राई, चन्द्रकला राई, गङ्गा राई, देवकी पौद्दार पीडित भएको भन्दै मिटरब्याजमा लगानी गर्नेलाई कारबाहीको माग राख्दै उनीहरूसहित पथरीशनिश्चरेका पूर्व नगर प्रमुख दिलिपकुमार राईसहित विभिन्न राजनैतिक दल र सङ्घ–संस्थाका प्रतिनिधिहरूले बिहीबार मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई भेटेका छन् । उनीहरूले गाउँका सिधासिधा सर्वसाधारणलाई मिटरब्याजमा ऋण लगानी गर्ने र उनले भनेजति रकम नदिए उठिबास लगाउने धम्की दिनेलाई कारबाहीको माग राखेका हुन् ।
त्यसैगरी पथरीशनिश्चरे–९ की इन्द्रकुमारी लिम्बूले पनि मिटरब्याजमा ऋण लगाउने गरेको पीडितहरूको गुनासो छ । इन्द्रकुमारीले छिमेकी देवीमाया राईलाई पाँच वर्षअगाडि १ लाख ५० हजार रुपैयाँ ऋण दिएकी थिइन् । उनले पटक–पटक गरी १ लाख ५० हजारको ३० लाख रुपैयाँ दिइसकेको सुनाइन् । अझै ४९ लाख ७० हजार रुपैयाँ दिनुपर्ने भन्दै दिनहुँ टर्चर दिने गरेको उनको गुनासो छ । ‘ऋण तिर्दातिर्दा भएको सम्पत्ति सबै रित्तियो । तर ऋण अझै बाँकी छ भन्न साहुहरूले कहिल्यै छोडेनन्’ जिल्ला प्रशासन कार्यालय परिसरमा भेटिएकी राईले भनिन्, ‘१ लाख ५० हजार ऋणको ३० लाख रुपैयाँ दिइसक्दा पनि अझै ऋण चुक्ता भएन ।’ साहुले अझै साँवा र ब्याज गरेर ४९ लाख ७० हजार दिनुपर्ने भन्दै चेक बाउन्समा मुद्दा हालेको उनले बताइन् ।
यसरी एकपछि अर्को गर्दै मिटर ब्याजको जालोमा पर्ने उल्लेखित घटना प्रतिनिधिमूलक हुन् । गृह मन्त्रालयले मिटरब्याज पीडितलाई प्रशासनमा उजुरी दिन आह्वान गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङमा मात्र २ सय २० जना बढी मिटरब्याज पीडितले निवेदन दर्ता गराएको जिल्ला प्रशासन कार्यालय मोरङको अभिलेखमा देखिन्छ । प्रशासनमा दर्ता भएका २ सय २० मध्ये ५७ वटा निवेदन उपर दुवै पक्षबीच सहमति भएको छ । १५ वटा निवेदन दुवै पक्षबीच सहमति नभएपछि अदालतमा पठाएको छ भने १ सय ६३ निवेदन विचाराधीन रहेको जनाइएको छ ।
कारबाही गर्न माग
मोरङको पथरीमा मिटरब्याजमा ऋण
लगानी गरेर सर्वसाधारणलाई उठिबास लगाउनेलाई कारबाही गर्न माग राखेका छन् ।
यहाँका स्थानीय, राजनैतिक दल र विभिन्न सङ्घ–सङ्गठनहरूले मोरङका प्रमुख
जिल्ला अधिकारी इन्द्रदेव यादवलाई भेटेर यस्तो माग राखेका हुन् ।
अनुचित
लेनदेन मिटरब्याज जस्तो गम्भीर सामाजिक अपराधलाई नियन्त्रण गर्न र
पीडितलाई कानूनी तथा सामाजिक न्याय दिन प्रशासनसँग माग गरिएको स्थानीय
अर्जुन जम्नेली राईले बताए । ‘पथरीमा पछिल्लो समय मिटर ब्याजको आतङ्क
देखिएको छ । यस्तो अपराध जरैदेखि निर्मूल पारी पीडितलाई न्याय दिलाउने काम
प्रशासनले गर्नुपर्दछ’ उनले भने, ‘मिटर ब्याज जस्तो अपराध जरैदेखि उखेलेर
फाल्न र पीडिकहरूलाई छानबिन गरी हदैसम्मको कारबाही गर्न हामीले पथरीमा
सर्वपक्षीय भेलाबाट निर्णयसमेत गरेका छौं ।’
ज्ञापन–पत्र बुझ्दै मोरङका
प्रमुख जिल्ला अधिकारी यादवले घटनाका विषय बुझेर प्रहरीलाई अनुसन्धान गर्न
निर्देशन दिने बताए । यता मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले
दुवै पक्षलाई छलफलमा बोलाएर घटनाका विषयमा बुझ्न इलाका प्रहरी कार्यालय
पथरीलाई भनेको बताए ।