वराहक्षेत्र । आगलागीमा घर जलेर सर्वस्व गुमाएका वराहक्षेत्र नगरपालिका–२ तेह्र आर्डीका पीडित शिव बहरदार गोठमा बस्न बाध्य भएका छन् ।
करिब एक महिनाअगाडि घरछेउको पसलबाट आगो लागेर घरबारविहीन बनेका उनको परिवार गोठमा बस्न बाध्य भएको हो । हालसम्म परिवारले कुनै सहयोग नपाएको वृद्ध बहरदारले बताए । घटना सम्झँदै पीडित भन्छन्, ‘राति नौ बजेको थियो, कोठामा हामी सुतिरहेका थियौं, छिमेकी प्रमोद बस्नेतको पसलबाट एक्कासि आगो लाग्यो, हारगुहार गरेपछि भागेर ज्यान त बचायौँ तर घरको केही सामान बचाउन सकेनौँ । सबैकुरा सकियो ।’
घटनाको रात पसलधनी प्रमोद बस्नेत र अर्का पहिचान नखुलेका व्यक्ति आगो तापेर बसेका थिए । उनीहरू गएपछि सोही आगोबाट आगलागी भएको उनले बताए । उनका अनुसार अहिले गाउँलेहरूले दिएको दाल, चामलले गुजारा चले पनि घर नहुँदा चिसो गोठमा रात काट्नु परेको छ । ‘गोठमा बस्नुबाहेक अर्को उपाय छैन, कसैले शिर लुकाउने ठाउँ बनाइदिन सहयोग गरे पनि हुन्थ्यो’–उनले सहयोगको याचना गर्दै भने ।
उनकी पत्नी तुरियादेवीले
भनिन्, ‘घरको मूली श्रीमान् वृद्ध छन्, म आफै बिरामी छु, दिन त कसैगरी
बित्छ तर रात परेपछि बिजोक हुन्छ । हामी त सुत्छौँ । छोरीलाई आफन्तकहाँ
पठाउनुपरेको छ ।’ गत मङ्सिर १५ गते आगलागी भएको थियो । घटनाबारे स्थानीय
वडा तथा प्रहरीमा रिपोर्ट लेखाएका थियौँ । नगरपालिकाले नगद ६ हजार रुपैयाँ
सहयोग ग¥यो । त्यसबाहेक अन्य सहयोग जुट्न नसकेको उनले बताइन् ।