धरान । रोल्पाली कवि प्रेमप्रकाशको ‘रगतको तर्पण’ कविता सङ्ग्रहमाथि सुनसरीको धरानमा शनिबार बिहान परिचर्चा गरिएको छ ।
चर्चाकार डा. अस्मिता विष्टले भनिन्, “प्रेमप्रकाशको कवितामा रोल्पाको भूगोल मात्रै हैन, त्यहाँको मगर संस्कृतिको कुरा पनि आएको छ ।” उनले प्रेमप्रकाशको कवितामा इतिहास र दर्शन मात्रै नभई प्रेम पनि भएको बताइन् । उनले थपिन्, “इतिहास र दर्शनले बोक्न नसकेको कुरा कविताले बोकेको हुन्छ । कवितामा प्रेम मात्रै हुँदैन, कवितामा इतिहास पनि हुन्छ । इतिहास बोकेकै हुनुपर्छ । कवि बाँचकेको समयलाई प्रतिनिधित्व गरेको हुनुपर्छ । त्यो रगतको तर्पणमा छ ।”
उनले कवितामा माओवादी जनयुद्धको समयमा रोल्पाको भोगाइलाई जीवन्त बनाएको बताइन् । कविले आफ्नो समुदाय पनि निर्माण गरेको उनको भनाइ थियो । उनले अहिलेका कवितामा समग्र संस्कृति मात्रै नभई संस्कृतिभित्र विशेष कुराहरू के के पर्छ त भन्ने कुरा पनि आउनुपर्ने बताइन् ।
परिचर्चा कार्यक्रममा स्रष्टा सविता फागो चोङबाङले कवि प्रेमप्रकाशको कविता वाचन गरी समुद्घाटन गरिन् । त्यसबीचमा सङ्गहबाटै युग सर्वनाम र विशाल नाल्बोले पनि कविता वाचन गरे । आयोजक कलरव धरानका संयोजक कवि सुदीप पाख्रिनले भने, “प्रेमप्रकाशको कविताले रोल्पाको भूगोलसँगै संस्कृतिलाई पनि उठाएको छ ।”
कार्यक्रमको अन्त्यमा कवि प्रेमप्रकाशले आफ्नो कविता सङ्ग्रहको परिचर्चा धरानमा हुन पाउनु खुसी भएको बताए । उनले नेपालको राजनीतिक इतिहासमा रोल्पाप्रति अलिक गलत भाष्य रहेकाले उक्त भाष्यलाई चिर्नका लागि पनि यो कविता आएको बताए । “नेपालको राजनीतिक इतिहासमा रोल्पाप्रति अलिक गलत भाष्य पनि छ । यो भाष्यलाई चिर्नका लागि पनि यो कविता आएको हो । लेख्न धेरै बाँकी छ । यहाँ त्यो ऊर्जा प्राप्त गरेको छु” उनले भने ।
त्यस क्रममा सर्जक तथा स्रष्टाको अनुरोधमा आफ्नो सङ्ग्रहको एउटा कविता पनि वाचन गरेका थिए । कार्यक्रमपश्चात् हेमन यात्रीले रोल्पालाई युद्धभूमिको रुपमा मात्रै चिन्ने भए पनि त्यो कुरालाई चिर्न सफल भएको बताए । कार्यक्रममा अमित थेबेले पनि कविताबारे चर्चा गरेका थिए ।