धरान। सुनसरीको धरान उपमहानगरपालिका–१५ सदनरोडमा एक युवकमाथि धारिलो हतियार आक्रमण गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

लागूऔषध लुटेको विषयमा आफ्नै साथीहरूबीच विवाद भएपछि रिजन राईमाथि खुकुरी प्रहार गरेको देखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । ‘लुटेको लागूऔषधको विषयमा विवाद भएको देखिन्छ’ उनले फोनसम्पर्कमा भने, ‘साथै पुरानो रिसइबी पनि भएको देखिन्छ ।’ राईमाथि आक्रमण गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको र उनीहरूमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको उनले जानकारी दिए । घटना शनिबार बिहानको राति करिब पौने ३ बजेतिर भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१३ का १८ वर्षीय उत्सव मगर, सोही ठाउँका २१ वर्षीय विश्रान्ती मगर, धरान–८ का २२ वर्षीय रोमन गुरुङ, सोही वडाका १८ वर्षीय प्रस्थान राई र धरान–५ का २१ वर्षीय सुदीप तामाङ रहेका छन् । उनीहरूको साथबाट एक थान खुकुरी पनि बरामद गरिएको छ ।

त्यस्तै रगत लागेका कपडाहरू बरामद गरिएको हो । आक्रमणबाट घाइतेको अवस्थामा गम्भीर नै रहेको भए पनि हालसम्म शल्यक्रिया भइसकेको एसपी तिम्सिनाले जानकारी दिए । उनको मोरङको विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा उपचार भइरहेको छ । आक्रमणकारी र घाइते साथी साथी रहेको प्रहरीले जनाएको छ । उनीहरू लागूऔषध दुव्र्यसनमा फसेका व्यक्तिहरू हुन् ।