धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै निर्मित अङ्कोलोजी भवनको उद्घाटन गर्ने तयारी गरे पनि प्रतिष्ठानका पदाधिकारीबीचको विवादले गर्दा एक्कासि रोकिएको छ ।

यता तामझामसहित तयारी गरिएको भए पनि प्राविधिक कारणले गर्दा रोकिएको प्रशासनले जनाएको छ । त्यसका लागि सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उद्घाटन गर्ने भनी शिलालेखमा समेत लेखी टाँस गरिएको थियो । सोहीअनुसार उद्घाटनका लागि वातावरण तयार गरिएको थियो । आइतबार मात्रै प्रतिष्ठानको कार्यकारी समितिकोे बैठक बस्ने तयारी गरिँदा पदाधिकारीबीच भाँडभैलो सिर्जना भएको थियो । सोही कारण नै सरकारका प्रतिनिधिलाई जानकारी गराएपछि कार्यक्रम हुन नसकेको प्रतिष्ठान स्रोत बताउँछ ।

यता यस विषयमा बुझ्नका लागि प्रतिष्ठानका निर्देशक डा. जगतनारायण प्रसादलाई फोन गर्दा उनले फोन उठाएनन् । प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौलालाई यसबारे बुझ्दा उनले भने, ‘उद्घाटन हुन नसक्नु प्राविधिक पक्ष हो । एक–दुई दिनपछि त्यसको प्रक्रिया सुरु हुन्छ ।’ प्रतिष्ठान स्रोतका अनुसार रजिष्ट्रार सङ्ग्रौला र अस्पताल निर्देशक डा. जगत नारायणबीचमा कार्यकारी समिति (कास) बैठकको क्रममा नै विवाद सिर्जना भएपछि तयारी गरिसकिएको कार्यक्रम सरेको हो ।

अस्पताल निर्देशक जगत नारायणले फार्मेसी सञ्चालनलगायतका विभिन्न निर्णयहरू एकलौटी ढङ्गले गरेको भन्दै कार्यकारी समितिको बैठक बहिष्कार गरेको स्रोत बताउँछ । सोही कारण नै पदाधिकारीहरूको आन्तरिक विवादका कारण उद्घाटनका लागि आउने तयारी गरेका स्वास्थ्यमन्त्री एकाएक नआएको स्रोत बताउँछ । रजिष्ट्रार सङ्ग्रौलाले भने, ‘प्रतिष्ठानको सबै कुरा बाहिर ल्याउने कुरा होइन, म पनि त्यहीँको पदाधिकारी हो । पदाधिकारीबीचमा कमी कमजोरी भएको छ । मेनेजमेन्टले पनि सुधार गरेर जानुपर्छ ।’

अर्का स्रोतका अनुसार अस्पताल उद्घाटन गर्नका लागि पूर्ण तयारी अवस्थामा रहेको थियो । त्यसका लागि उद्घाटन गर्दा चाहिने सम्पूर्ण सामग्रीहरू तयारी भएको उनको भनाइ छ । ‘गेटहरू बनाइएको थियो, औषधिको पनि व्यवस्था गरिएको थियो, बेड पनि हालेको अवस्था थियो । अस्पतालले पूर्णरूपमा तयारी गरेको थियो’–स्रोत भन्छ ।