धरान  । विवादका कारण स्थगित भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अङ्कोलोजी (क्यान्सर) युनिट, बर्न (जलेको) युनिट तथा फार्मेसी युनिटको तीन दिनपछि उद्घाटन भएको छ ।

यसअघि माघ ७ गते उद्घाटन गर्नेगरी तयारी थालिएको थियो । उक्त तयारी विवादका कारणले रोकिएको थियो । बिहीबार भने विवाद नटुङ्गिँदै उद्घाटन गरिएको हो । तीन दिनअघि टाँस गरिएको शिलालेखमा मिति मात्रै परिवर्तन गरी माघ १० (बिहीबार) उल्लेख गरिएको थियो । कार्यक्रममा शिक्षाध्यक्ष प्रा.डा. सञ्जीवकुमार शर्मा र रजिष्ट्रार प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौला उपस्थित थिएनन् । शिक्षाध्यक्ष शर्मा भने भारततिर भएका कारणले उपस्थित नभएका हुन् । यता रजिष्ट्रार भने कार्यक्रममा सहभागी भएका थिएनन् । रजिष्ट्रार सङ्ग्रौलाले विभिन्न कारणले गर्दा हाल उद्घाटन गर्न नहुने तर्क अगाडि सारेका थिए भने जसरी पनि उद्घाटन गर्नेतर्फ उपकुलपति डा. ज्ञानेन्द्र गिरी लागेका थिए ।

उपकुलपतिकै जोडबलमा बिहीबार उद्घाटन भएको हो । उद्घाटन कार्यक्रममा उनले भने, ‘सर्टेन बाधा अड्चनहरू भका छन् । तर यो संस्था कुनै विवादमा छैन । अनर्गल प्रचार गरिएको छ । त्यसलाई चिर्न चाहन्छु । हामीसँग डकुमेन्टेड छ । त्यो सबै भ्रामक र गलत कुरा हो ।’ त्यसो त यसअघि रजिष्ट्रार सङ्ग्रौलाले पनि ब्लाष्टकर्मीलाई व्यवस्थापनमा केही समस्या रहेको बताएका थिए । हाल उद्घाटन गरिएको भवनको लागत मूल्य २ करोड रुपैयाँ रहेकोमा सम्पन्न अवधिसम्म १३ करोड रुपैयाँ पुगेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टङ्गालमा मुद्दा रहेको छ । भवन पूर्णरूपमा सम्पन्न नभइकनै उद्घाटन गर्न नहुने पक्षमा रजिष्ट्रार रहेका थिए । उनले औषधि खरिदमा पनि अस्पताल निर्देशकले एकलौटी ढङ्गबाट काम गरेको भन्दै माघ ६ गते भएको कार्यकारी समिति (कास) मा विवाद उत्पन्न भएको थियो ।

उद्घाटन कार्यक्रम भइरहँदा बीपी प्रतिष्ठान सञ्चालक परिषद् सदस्य (सिनेट) समेत रहेका धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) लाई उपकुलपति डा. गिरीले राजनीतिक कुरा नगर्न खाली स्वास्थ्यको कुरा मात्रै गर्न आग्रह गरेका थिए । नगर प्रमुख साम्पाङले पनि ‘मलाई राजनीतिक कुरा गर्न आउँदैन’ भन्दै जवाफ दिएका थिए । उद्घाटन कार्यक्रमपश्चात् गरिएको सम्बोधन कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले ‘सानातिना प्रक्रियामा नअल्झिकन’ काम र नजितातर्फ अगाडि बढ्नका लागि सुझाव दिएका थिए । उनको आशय पनि प्रतिष्ठानका पदाधिकारीको विवादको विषयलाई सङ्केत गरेको थियो । साथै अख्यितारको विषयलाई भन्दा पनि कामलाई बढी प्राथमिकता दिनु भन्ने आशय रहेको थियो ।

नगर प्रमुख हर्कराज राईले उपकुलपति डा. गिरीको स्वभाव पनि आफ्नो जस्तै रहेको भन्दै प्रशंसा गरेका थिए । त्यो बेलामा उपकुलपति डा. गिरी नगर प्रमुख राईतिर हेर्दै हाँसेका थिए । सम्बोधन सकेपश्चात् उनले नगर प्रमुखसँग हात पनि मिलाएका थिए । दुईबीचमा केही क्षण भलाकुसारीसमेत भएको देखिन्थ्यो । बीपी प्रतिष्ठानको उक्त भवन पूर्व उपकुलपति प्रा.डा. बलभद्रप्रसाद दासको पालामा निर्माण सुरु भएको थियो । त्यो बेलादेखि यो मुद्दा अख्तियारमा परेको थियो । भवन निर्माणलगायत डिजाइनको समयमै पनि आर्थिक अनियमितता भएको भनी मुद्दा परेको थियो ।