ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा पुग्ने केबलकार निर्माणको विषयमा फेरि विवाद हुँदा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ । पाथीभरामा केबलकार निर्माण सुरु भएको तीन दिनपछि शनिबार प्रहरी र केबलकार बनाउन नदिनेबीच झडप हुँदा जनपद र सशस्त्र प्रहरीका तीनजना घाइते भएका छन् ।

फुङ्लिङ नगरपालिका–११ को पाथीभरा क्षेत्रको बलुडाँडामा भएको झडपमा सशस्त्र प्रहरीले ५ सेल अश्रुग्यास र २ ग्रिनेट ग्यास प्रहार गर्नुपरेको थियो । स्थिति गम्भीर हुने भएपछि प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काले जानकारी दिइन् । तर आन्दोलनकारीहरूले भने प्रहरीले गोली नै प्रहार गरेको दाबी गरेका छन् । उनीहरूले आन्दखोलनरत पक्षका विशाल श्रेङको कपडा र थोरै छाला छेडेर गएको र घाइते भएको दाबी गरेका छन् ।

घाइते हुनेमा जनपद प्रहरी जवान अनुज विक, सइ रामदेव यादव र सशस्त्र प्रहरी जवान सञ्जीव बस्नेत रहेका प्रहरी प्रमुख डिएसपी रवि रावलले जानकारी दिए । घाइतेहरूको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ ।

पाथीभरा क्षेत्रको बलुडाँडा क्षेत्रमा केबलकार निर्माण गर्न नदिने समूहले विभिन्न घरेलु हतियार लुकाईछिपाई राखेको भन्ने सूचनाका आधारमा प्रहरीको टोली त्यसतर्फ गएको थियो । पहिचानवादीहरूले प्रहरीमाथि नै एक्कासि ढुङ्गामुढा गरेपछि दोहोरो झडप भएको प्रहरीले दाबी गरेको छ । उक्त क्षेत्रबाट प्रहरीले तीन थान खुकुरी र एक थान गुलेलीसमेत बरामद गरेको सहायक प्रजिअ खड्काले जानकारी दिइन् । ‘घरेलु हतियार भण्डारण गरिएको भन्ने सूचना हामीलाई आएको थियो । नियन्त्रणका लागि प्रहरी परिचालन गरिएको थियो । प्रहरीमाथि नै आक्रमण गर्ने काम भयो’–सहायक प्रजिअ खड्काले ब्लाष्टसँग भनिन् ।

सिडिओमाथि ज्यान मार्ने धम्की
केबलकार निर्माणको विरोध गर्दै आएको पहिचानवादी समूहले प्रहरीमाथि आक्रमण गर्नुका साथै प्रमुख जिल्ला अधिकारीमाथि ज्यान मार्ने धम्कीसमेत दिएको छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) नेत्रप्रसाद शर्मालाई सङ्घर्ष समितिका जिल्ला संयोजक प्रदीप मादेनले आफ्नो मोबाइलबाट ज्यान मार्ने धम्की दिएको सहायक प्रजिअ खड्काले बताइन् । दुई पटक झडपसँगै प्रजिअलाई नै ज्यान मार्ने धम्की आएपछि त्यस क्षेत्रमा थप प्रहरी परिचालन गरिएको छ । ‘प्रजिअज्यूलाई फोन गरेर ‘तँ सुरक्षित छैनस्’ भनेर धम्की दिने काम भयो’–उनले भनिन् । प्रशासनमाथि नै धावा बोल्ने जोसुकै भए पनि कानूनी कारबाही गरिने उनले बताइन् ।

मुक्कुमलुङ सङ्घर्ष समिति, केबलकार खारेजी सङ्घर्ष समितिलगायतले पाथीभरामा बन्ने केबलकारको विरोध गरिरहेका छन् । पाथीभरा माता केबलकार कम्पनीले निर्माणका लागि जमिन सम्याउनेलगायतको काम गरिरहेको छ । मङ्गलबार जमिन सम्याउन थालेको सूचना प्रवाह भएपछि आन्दोलनकारी पाथीभरा क्षेत्रमा केन्द्रित भएका बताइएको छ ।

केबलकार निर्माणको जिम्मा पाएको हिमालयन कन्स्ट्रक्सनका इन्द्र केदेमले १५ महिनाभित्र सक्ने गरी काम सुरु गरेको जनाएपछि निर्माण रोकेर नफर्किए हड्ताललगायतका आन्दोलनमा उत्रने चेतावनी आन्दोलनरत समूहले विज्ञप्तिमार्फत् दिएको थियो । शनिबार बेलुका साँझपछि अवस्था सामान्य रहेको प्रजिअ शर्माले बताए । आन्दोलनत पक्षले भने आन्दोलनका कार्यक्रम जारी रहेको जनाएको छ ।