विराटनगर । कोशी प्रदेशका प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी पार्टी) ले ताप्लेजुङमा केबलकार निर्माणको काम रोक्न माग गरेको छ ।

कोशी प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै दुई दलले तत्काल काम रोक्न माग गरेका हुन् । विशेष समयमा बोल्दै नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले व्यापारीलाई रिझाउन जनतालाई गोली हान्न नमिल्ने बताए । ‘व्यापारीलाई रिझाउनका निम्ति जनतामाथि गोली चलाउने र जनता मार्ने काम सरकारबाट तुरुन्त बन्द होस्’ उनले भने, ‘त्यो निर्माण कार्यलाई तत्काल रोकेर सुरक्षा फौजलाई फिर्ता बोलाई शान्तिपूर्ण स्थितिको सिर्जना गर्नुपर्छ  वार्ता र संवादमार्फत् मात्रै बाँकी कामलाई अगाडि बढाउन ध्यानाकर्षण गराउँछु ।’

मुक्कुमलुङ क्षेत्रलाई व्यापारिक प्रयोजनका लागि दिँदा स्थानीयको भावनामा धेरै ठूलो चोट परेको दाबी गर्दै उनले भने,  ‘शान्तिपूर्ण विरोध गर्दा राज्य आतङ्क र दमन भएको छ ।’ नेकपा (एकीकृत समाजवादी पार्टी) का सांसद् कमलप्रसाद जवेगूले प्रहरी र सशस्त्र प्रहरीले आन्दोलनकारीले खाना खाएको समयमा आक्रमण गरेको दाबी गरे । उनले किरात धार्मिकस्थल मुक्कुमलुङ क्षेत्रमा प्राकृतिक अवस्थामै छाड्नुपर्ने बताए । व्यापारीको पछि लागेर राज्यले नागरिकमाथि आक्रमण गरेको उनको भनाइ छ ।

‘हाम्रो पहिचानको धरोहरलाई नढालौँ नभत्काऊ, संरक्षण गरौँ, जस्तो अवस्थामा छ, त्यस्तै अवस्थामा रहोस् भन्ने चाहना हो’ उनले भने, ‘एउटा व्यापारीको पछि लागेर सङ्घको सरकार पनि कुदिरहेको छ, प्रदेशको सरकार पनि कुदिरहेको छ ।’ उनले केबलकारभन्दा पनि पाथीभराको तल्लो फेदी काफ्लेपाटीसँग सडक कालोपत्रे गर्न माग गरे । स्थानीयसँग वार्ता गरेर विवाद टुङ्गो नलागेसम्म केबलकारको काम रोक्न आग्रह गरे ।

प्रदेशसभा बैठकमा घटनाका विषयमा जानकारी दिँदै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीले ताप्लेजुङको घटनामा दुई जनालाई प्रहरीले चलाएको गोली लागेको बताए । भागदौड हुँदा अर्का एक जना पनि घाइते भएको बताए । २१ जना प्रहरी घाइते रहेको र ७ जना प्रहरी अस्पतालमा उपचाररत रहेको जानकारी दिए । तीन जनाको थप उपचारका लागि काठमाडौँ पठाइएको उनले बताए । शनिबार बेलुका ५ः५० मा आन्दोलनकारीले प्रहरीमाथि एक्कासि ढुङ्गामुढा गरेपछि प्रहरीले आत्मरक्षाका लागि प्रहरीले २० सेल अश्रुग्यास र १० राउण्ड हवाई फायर गरेको बताए ।

उनले समस्या समाधानका लागि प्रदेश सरकार वार्ता गर्न तयार रहेको बताए । उनले आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरे । प्रदेशसभाको शून्य समयमा बोल्दै सांसद् प्रदीपकुमार सुनुवार, सम्शेर राई, गोविन्द गिरी, सविना बजगार्इं, विदुरकुमार लिङ्थेपले पाथीभरा क्षेत्रमा देखिएको विवाद समाधान गर्न माग गरे । व्यवसायी चन्द्र ढकालको समूहले ताप्लेजुङमा पाथीभरा जाने केबलकार निर्माण गरिरहेको छ ।