विराटनगर । मोरङको
धनपालथान गाउँपालिका–४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको ठगी
मुद्दाका मुख्य अभियुक्ति भनिएका सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार
पक्राउ पुर्जी जारी भएको एक सय दिनपछि अदालतमा सुटुक्क हाजिर भएका छन् ।
सहकारीको
२२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना गरेको उजुरी प्रहरीमा आएपछि
२ असोजमा अध्यक्ष रौनियारविरुद्ध मोरङ अदालतले पक्राउ अनुमति दिएको थियो ।
पक्राउ अनुमति जारी भएको सूचना चुहिएपछि फरार भएको एक सय दिनपछि उनी
सोमबार कानून व्यवसायीलाई साथमा राखेर अदालतमा उपस्थित भएका हुन् ।
अदालतमा हाजिर भएपछि रौनियारले लामो बयान दिने बताए । त्यसै अनुसार गोलाप्रथाबाट मोरङ अदालतका न्यायाधीश अरुणकुमार झाको ११ नम्बर इजलासमा बयान आरम्भ भएको थियो । अदालती बयान सोमबार नसकिएपछि मङ्गलबार अदालत खुलेपछि उपस्थित हुने गरी मोरङ प्रहरीलाई जिम्मा लगाएर पठाएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
‘बयान नसकिएपछि मङ्गलबार पुनः उपस्थित हुने गरी मोरङ प्रहरीलाई जिम्मा लगाएर पठाइएको छ । अदालत खुलेपछि फेरि बयान सुरु हुनेछ’ मोरङ अदालतका सूचना अधिकारी बुढाथोकीले भने, ‘प्रतिवादीको बयान सकिएपछि थुनछेक बहस हुनेछ ।’
अदालतले जिम्मा लगाएर पठाएपछि रौनियारलाई अहिले जिल्ला प्रहरी कार्यालय मोरङको न्यायिक हिरासतमा राखिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । अदालतले भनेको समयमा प्रतिवादीलाई उपस्थित गराउने गरी जिम्मा लगाएर पठाएको उनले बताए ।
उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन मुद्दामा सहकारीका अध्यक्ष रौनियार, शिक्षिका अन्जला कोइरालासहित २६ जनालाई प्रतिवादी बनाएर २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबीसहित २७ मङ्सिरमा मुद्दा दायर भएको थियो ।
मङ्सिर २८ गते जिल्ला अदालत मोरङले थुनछेक बहसपछि सहकारीका सञ्चालक तथा धनपालथान गाउँपालिका–४ का पूर्ववडाध्यक्ष रोशन चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
गत २४ पुसमा अदालतमा उपस्थित भएकी सहकारीको पूर्वसञ्चालक अञ्जला कोइराला पनि १० लाख धरौटीमा छुटेकी थिइन् । यो मुद्दामा अहिलेसम्म पाँचजना अदालतमा उपस्थित भएका छन् । तीन जनाको हकमा धरौटी रकम बुझाएर रिहा भएका छन् भने एक जना पुर्पक्षको लागि थुनामा रहेका छन् ।
यसअघि अदालतले सहकारीका पूर्वसञ्चालक रोशन राजवंशीलाई पुर्पक्षको लागि थुनामा पठाउँदा पूर्वसञ्चालक सार्वजनिक लेखा समितिका सभापति तथा एमाले सांसद् ऋषिकेश पोखरेलको पत्नी अञ्जला कोइराला र सन्तलाल खवासलाई धरौटीमा छाडेको हो । सहकारीको अनुसन्धानपछि मुद्दा दायर हुँदा प्रहरी नियन्त्रणमा रहेका राजवंशीलाई अदालतले पुर्पक्षको लागि थुनामा पठाएकोमा त्यसपछि अदालतमा आफै उपस्थित भएका कोइराला र खवासलाई धरौटीमा छाडेको हो ।
सहकारी ठगीको अनुसन्धान सुरु भएपछि आफू पनि पीडित भएको भन्दै निवेदन लिएर पुगेका राजवंशीलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले सहकारी अनुसन्धानको क्रममा अन्य सञ्चालकहरू कसैलाई पनि पक्राउ गर्न चासो दिएन । अन्य २५ जनालाई फरार अभियुक्त करार गर्दै मङ्सिर २७ गते जिल्ला अदालतमा अभियोगपत्र दायर भएकोमा २८ गते न्यायाधीश न्यायाधीश अरुणकुमार झाको इजलासले राजवंशीलाई थुनामा राख्ने आदेश दिएको थियो ।
सहकारीमा ठगी प्रकरण हुनुभन्दा अगाडि सञ्चालक समितिमा रहेका खवासलाई न्यायाधीश मेघनाथ चापागाईंको इजलासले पुस १८ मा ५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । उनी नेकपा (एमाले)बाट निर्वाचित रङ्गेली–२ का वडाध्यक्ष हुन् ।
यस्तै २६ पुसमा अदालतमा उपस्थित भएकी
सार्वजनिक लेखा समिति सभापतिकी श्रीमती रहेकी कोइरालालाई न्यायाधीश
उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख रुपैयाँ धरौटीमा थुनामुक्त गरेको छ ।
पीडितको जाहेरी, प्रहरीको अनुसन्धान प्रतिवेदन र अदालतमा दायर गरेको
अभियोगपत्र अनुसार अञ्जला र राजवंशी सञ्चालक भएको समयमा सहकारीमा अनियमितता
भएको देखिन्छ ।
कहाँ थिए सय दिनसम्म रौनियार ?
२२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ अपचलन गरेको आरोप लागेको
सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारलाई अदालतले फक्राउ गर्न अनुमति दिएको
सूचना पाएपछि उनी फरार भए । सहकारीको रकम अपचलन गर्ने मुख्य अभियुक्त नै
रौनियार भएपछि सुरुमा इलाका प्रहरी कार्यालय रङ्गेलीले उनीविरुद्ध पक्राउ
अनुमति अदालतसँग लिएको थियो । अनुसन्धानको लागि २ असोजमा मोरङ अदालतले पनि
पक्राउ अनुमति दियो । त्यसपछि कोशी प्रदेश प्रहरी कार्यालय, मोरङ प्रहरी र
इप्रका रानीसहितका प्रहरी निरीक्षक नेतृत्वको टोलीले रौनियारलाई पक्राउ
गर्न खोजी कार्य तीव्र बनायो । प्रहरीले उनको घरदेखि आफन्त सबैतिर खोजी
ग¥यो तर, पत्ता लगाउन सकेन ।
‘अदालतले पक्राउ अनुमति दिएपछि रौनियारको सुरुमा मोबाइल फोनको लोकेसन काठमाडौं देखाएको थियो । त्यसपछि उनको लागि उपत्यका प्रहरी परिसर काठमाडौंैसँग समन्वय ग¥यो । त्यसबेलासम्म उनको फोन अफ भयो । पछि भारतको वेस्ट बङ्गालको जलपाइगुढीमा लोकेसन देखायो । भारतीय प्रहरीसँग समन्वय पनि गरियो । लोकेसन पत्ता नलाएपछि त्यसबेला प्रहरी निरीक्षकको टोली पनि भारतको सीमावर्ती क्षेत्रसम्म पुगेर फर्कियो । अदालतमा मुद्दा दायर गर्ने बेलासम्म पनि उनलाई पक्राउ गर्न नसकेपछि फरार प्रतिवादी बनाएर उनीसहित २६ जनाविरुद्ध अभियोग दर्ता गरिएको हो’– सहकारी ठगी मुद्दाको अनुसन्धान गर्दै आएका एक अनुसन्धान अधिकृतले भने ।
त्यसपछि सहकारीका सञ्चालकहरू अदालतमा उपस्थित हुन थाले । अदालतमा उपस्थित भएका चार जनामध्ये तीनजनालाई धरौटीमा छोड्न अदालतले आदेश गरेपछि उनी कानून व्यवसायीसँग राय लिएर अदालतमा हाजिर भएको उनी निकटका एक कानून व्यवसायीले बताए । थुप्रै पटक कानूनी परामर्श लिएपछि रौनियार अदालतमा हाजिर भएको ती कानून व्यवसायीले बताए ।
अझै २१ जना फरार सूचीमा
सहकारी ठगी
मुद्दामा अझै २१ जना फरार रहेका छन् । यसअघि धनपालथान–४ का पूर्व वडाध्यक्ष
रोशन राजवंशीलाई भने अदालतले पुर्पक्षका लागि जेल चलान गरेको थियो । उनी
नेपाली काङ्ग्रेसबाट २०७४ मा वडाध्यक्ष निर्वाचित भएका थिए । सोही मुद्दामा
नेकपा (एमाले)बाट निर्वाचित रङ्गेली नगरपालिका वडानम्बर २ का बहालवाला
वडाध्यक्ष सन्तलाल खवासलाई भने अदालतले ५ लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।
अभियोगपत्रमा अध्यक्ष रौनियार र सञ्चालक अञ्जलासहित लक्ष्मण साह रौनियार, आलम अन्सारी मियाँ, शम्भुप्रसाद सिंह, आमोदकुमार मण्डल, जितमान ठाकुर, विजयकुमार यादव, सुरेन्द्रकुमार राजवंशी, अशोककुमार विश्वास, दिलमाया राई, अञ्जला कोइराला, उपासी राजवंशी, सोनु यादव, मोहम्मद नजाम उद्दिनलाई प्रतिवादी बनाइएको छ । यसैगरी अदालतमा दायर भएको अभियोग पत्रमा चम्पा गिरी, शम्भुप्रसाद सिंह, सन्तलाल खवास, लक्ष्मीदेवी कार्की राजवंशी, ज्योति बाँस्कोटा, सुमन लोहनी, मित्रप्रसाद शिवाकोटी, शरदराज सिंह, मो. नसरुद्दिन, मनोजकुमार सोनी र यशोदाकुमारी राजवंशी फरार प्रतिवादीमा रहेको उल्लेख छ ।
दायर भएको अभियोगपत्रअनुसार प्रतिवादीहरूले बचतकर्ताहरूले लिने गरेको ऋणमा हेरफेर गरी पूरा ऋण प्रवाह नगरेको उल्लेख छ । उनीहरूलाई बढीमा ८ वर्ष कैद सजाय र हिनामिना भएको बिगो रकम असुल गर्नुपर्ने माग गरिएको छ ।
उमागौरी कृषि
सहकारीमा ८ हजार ८ सय ४२ जना शेयरसदस्य थिए । शेयर बापत ३ करोड ८ लाख ९०
हजार रहेको खुलाइएको छ । सहकारीमा ७ सय ७ जना ऋणीहरूका नाममा २४ करोड ३०
लाख २२ हजार ८ सय रुपैयाँ ऋण परिचालन भएको उल्लेख छ । सहकारी अहिले बन्द छ ।