वराहक्षेत्र । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा रकम बापत भुक्तानी दाबी ६ महिनादेखि निकासा नगर्दा चतरा अस्पतालमा आर्थिक सङ्कट उत्पन्न भएको छ । कर्मचारीहरूले साउन महिनादेखि तलब खानसमेत नपाएको अस्पतालले जनाएको छ ।
बिमा बोर्डले साउन महिनादेखिको पाँच करोडभन्दा बढी रकम निकासा नगर्दा अस्पतालका कर्मचारीको तलब खुवाउ नै गाह्रो भएको हो । अस्पताल व्यवस्थापन निर्देशक डा. अनिल गिरीका अनुसार स्वास्थ्य बिमा बोर्डबाट अस्पतालले २०८१ पुस मसान्तसम्म ५ करोड १० लाख २ हजार ३ सय ६६ रुपैयाँ ९ पैसा भुक्तानी दिन बाँकी छ ।
रकम नहुँदा अस्पतालका कर्मचारीहरू, औषधि, केमिकल र स्थानीय आपूर्तिकर्ताहरूको भुक्तानी गर्न नसकिएको डा. गिरीले जानकारी दिए । उनका अनुसार अस्पतालले तिर्न बाँकी दायित्व मात्रै ३ करोड ५८ लाख ४० हजार ९ सय ७७ रुपैयाँ ८६ पैसा रहेको छ । अस्पतालको ९० प्रतिशतभन्दा बढी आयस्रोत भनेको उपचारमा आउने बिरामी नै हुन् । प्रायः सबै बिरामीहरू बिमित छन् । बिमा बोर्डले भने समयमा दाबी भुक्तानी नगर्दा अस्पताल समस्यामा परेको डा. गिरीको भनाइ छ ।
‘बिमा दाबी गरिएको सरदर कम्तिमा ३५ दिनभित्रमा रकम पाइनुपर्ने हो । तर ६ महिना बितिसक्दा पनि बिमा बोर्डले भुक्तानी दिएको छैन’ डा. गिरीले भने, ‘रकम नआएपछि कर्मचारीहरूलाई तलब खुवाउन सकिएको छैन । समयमा तलब नखुवाएपछि जनशक्ति टिकाउन गाह्रो परेको छ ।’
वराहक्षेत्र नगरपालिकाको वडा नं.२ हाटखोलास्थित चतरा अस्पतालमा उदयपुर, धनकुटा, भोजपुर र स्थानीय गरी दैनिक ४ सय बढी सेवाग्राही उपचार गराउन आउने गरेका छन् । अस्पताल मा ७ जना चिकित्सकसहित ७५ कर्मचारी रहेका छन् । यसमध्ये ५९ जनालाई अस्पताल व्यवस्थापन समितिले तलब दिँदै आएको छ ।
बाहिरबाट आएर भाडामा बस्ने कर्मचारीहरूलाई दैनिक जीवनयापनमै समस्या भएको अस्पतालका फिजियोथेरापिष्ट डा. घनश्याम मण्डलले बताए । बिमा दाबीको रकम भुक्तानी गर्न पटक–पटक बिमा बोर्डलाई पत्राचार गरिएको भए पनि सुनुवाइ नभएको अस्पतालका सूचना अधिकारी यम भण्डारीले बताए ।