धरान । साना किसान कृषि सहकारी संस्था लि. धरानले कृषकहरूलाई कृषि सामग्री हस्तान्तरण गरेको छ । सहकारीले कृषकहरूलाई कृषि कार्यका लागि आवश्यक पर्ने स्प्रे ट्याङ्की र मिनी पावर टिलर वितरण गरेको हो ।

कृषि उत्पादनमा कृषि औजारको सहयोगले कृषि व्यवसाय थप नयाँ उचाइमा पुग्ने धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाले बताए । धरान उपमहानगरपालिका वडा नं. ४, ५ र ६ का कृषक तथा शेयर सदस्यहरूलाई स्प्रे ट्याङ्की र मिनी पावर टिलर वितरण गरेको संस्थाका व्यवस्थापक विष्णुकुमार श्रेष्ठले जानकारी दिए ।

साना किसान कृषि सहकारी संस्था लि. धरानले गतवर्ष पनि सदस्यहरूलाई कुटी काट्ने चाप कटर र स्प्रे ट्याङ्की वितरण गरेको थियो । बर्सेनि संस्थाले आफ्नै स्रोतमा उच्च गुणस्तरीय कृषि सामग्री किसानहरूलाई लागत साझेदारीमा वितरण गरिरहेको श्रेष्ठको भनाइ रहेको छ ।

संस्थाले तालिम तथा प्राविधिक सेवा,जोखिम व्यवस्थापन साथै लागत साझेदारीमा कृषि औजार हस्तान्तरण सेवा तथा बिउविजन उपलब्ध गराउँदै आइरहेको संस्थाका प्रबन्धक विष्णुकुमार श्रेष्ठले जानकारी दिए ।

संस्थाले सहुलियत दरमा कर्जा लगानी गरी किसानहरूले उत्पादन गरेको कृषिउपजहरूको बजारीकरणसमेत गर्न थालेको थप जानकारी दिएका छन् । संस्थाका अध्यक्ष शिला राईको अध्यक्षतामा भएको सो कार्यक्रममा धरान उपमहानगरपालिका उपप्रमुख अइन्द्रविक्रम बेघा प्रमुख अतिथि रहेका थिए ।