धरान । उपन्यासकार बालिका बान्तवाको  हालै विमोचित उपन्यास ‘प्याउली’ नारीवादी उपन्यास भएको वक्ताहरुले बताएका छन् । 

नारी हस्ताक्षर कथाकार एवम् कवि विना थिङले भनिन्, “यो नारीवादी उपन्यास हो ।” उनले प्याउलीमा आएकी मुख्य पात्र लादिम्पा अनुकूल पात्रको रुपमा स्थापित रहेको बताइन् । “यो आख्यान हो किनकि चरित्रहरुलाई स्थापित गरिएको छ । न्यारेटरले सिधै नभनी चरित्रमार्फत स्थापित गरिएको छ ।” उपन्यासमा आएका अन्य दुई मुख्य पात्र चाहिँ प्रतिकूल पात्रको रुपमा आएको बताइन् । 

प्रशान्त र उनिहाङ पात्र चाहिँ स्वार्थप्रेरित देखिएको उनले बताइन् । “समाजमा यस्ता पुरुष पात्रहरु हुन्छन् जसले सम्बन्धहरु स्थापित गर्न कुनै न कुनै स्वार्थ राखेका हुन्छन् । ती पात्रको रुपमा प्रशान्त र उनिहाङ आएको छ” उनले भनिन् । 

अर्का विमर्शकार अस्मिता विष्टले भनिन्, “कथानक सरल रेखामा मात्रै बग्दैनन् । उवडखावड आएका छन् । नायिकाको जन्म ८ औँ च्याप्टरमा भएको छ ।” उनले कुल २७ वटा च्याप्टरमा विभाजित गरिएको उपन्यासको पहिलो च्याप्टरमै सम्बन्ध विच्छेदको कुरा आएको बताइन् । उनले भनिन्, “हामीले आफ्नो कथा नै लेख्ने हो । सम्बन्ध विच्छेदको घटनालाई हेर्दा नारी मनोविज्ञानलाई हेर्न जरुरी छ ।” 

नेपाली समाजमा पनि सम्बन्धमा किन दरार आइरहेको छ भनी विश्लेषण गर्न यो उपन्यासले भूमिका खेल्न सक्ने उनले बताइन् । उनले यस उपन्यासमा परिवेश एकदमै सुन्दर ढङ्गले आएको बताइन् । भोजपुर, झापा, काठमाडौँ हुँदै हङकङसम्मको परिवेशलाई उतारिएको उपन्यासमा स्कुलका वर्णनहरु, च्याटका विषय धेरै आएकोले त्यस्ता विषयलाई आगामी दिनमा सुधार गर्दै जानुपर्ने बताइन् । तर, उपन्यासको उत्कृष्ट पक्ष चाहिँ सरलता भएको उनले बताइन् । 

कलरव धरानको आयोजनामा कार्यक्रममा भएको छ । कार्यक्रममा कोशी प्रदेश सांसद मीना श्रेष्ठले सभाध्यक्षको भूमिका निर्वाह गरेकी थिइन् भने उपन्यासकार बान्तवाले पनि उपन्यासमा आएका विविध पक्षबारे बताएकी थिइन् ।