धरान । विराटनगरमा सम्पन्न प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशनले गणेश पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
सोमबार सम्पन्न महाधिवेशनले पाण्डेको अध्यक्षतामा ९९ सदस्यीय कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा चेतन अधिकारी र महिला उपाध्यक्षमा कृपा भण्डारी चयन भएका छन् । भण्डारी समाजवादी प्रेस सङ्गठनबाट एकता प्रक्रियाबाट आएकी हुन् । यस्तै महासचिवमा हिरामान लामा भए भने उपमहासचिवमा हरिवल्वभ नेपाल चयन भएका छन् । यस्तै सचिवमा विक्रम लुइटेल, विष्णु तारुखे, नरेश भण्डारी र प्रदीप आचार्य चयन भएको निर्वाचन आयोगले जनाएको छ ।
महाधिवेशनमा प्रतिस्पर्धा गर्न नदिए पछि...
नेकपा (एमाले) का पार्टी अध्यक्ष केपी ओलीको ठाडो निर्देशन भन्दै प्रतिस्पर्धाका लागि अध्यक्षमण्डलले उम्मेदवारी मनोनयनमै निषेध गरेको थियो । त्यसका लागि स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतम लागेका थिए । अध्यक्षमा गणेश पाण्डे र महासचिव चेतन अधिकारीलाई बनाउन पार्टी अध्यक्षबाट निर्देशन आएपछि प्रतिनिधिहरू रुष्ट बनेका थिए ।
अध्यक्षमा दाबी गर्दैै आएका प्रेस चौतारी नेपालका उपाध्यक्ष राजेश राईले बन्दसत्रमा भावुक भएर मन्तव्य व्यक्त गरेका थिए । ‘यस सङ्गठनमा एक से एक होनहार नेताहरू छन् । प्रेस चौतारी नेपाल हाँक्न एक से एक सक्षम नेता छन्’ उनले शुभचिन्तकहरूमाझ भने, ‘मञ्चमा बस्नेले तल बस्नेलाई ललकार्नु हुँदैन । पदहरू अस्थायी हुन्, ज्ञान र विवेक स्थायी हुन् । पदले एक वर्ष शासन गर्ला बुद्धिले सधैँ शासन गर्छ ।’
अध्यक्षमा दाबी प्रस्तुत गरे पनि प्रतिस्पर्धा गर्न नदिएको उनलेगुनासो गरे । ‘मैले सङ्गठनलाई अर्को घुम्तीसम्म लैजान सक्छु भन्ने थियो । तर अवसर मिलेन । हामीमाथि सयौँ प्रश्न छन् । अब सङ्गठन अगाडि कसरी लैजान्छौँ ? ‘प्रधानमन्त्रीमाथि तीव्र प्रोपोगान्डा छ, त्यो प्रोपोगान्डालाई कसरी प्रतिरोध गर्छौं ?’–उनले भने । अबको यात्रा सक्रिय पत्रकारितामा हुने उनले बताए । ‘अब म न्यूज रुममा हुनेछु । मैले २२ वर्षको अवधिमा सङ्गठन र पार्टीका लागि समय दिएँ’–उनले भने । उनले देशभरबाट आएका प्रतिनिधिको भावना सम्बोधन नभएकोमा गुनासोसमेत गरे ।