काठमाडौँ । फागुनमा देशभर चार हजार चार सय ६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन् । फागुनमा दर्ता भएका आपराधिक घटनाका मुद्दामध्ये सबैभन्दा बढी बैङ्किङ कसूरका एक हजार एक सय २७ रहेका छन् ।
काठमाडौँ उपत्यकामा अपराधका घटना बढी घट्नुका साथै सबैभन्दा बढी बैङ्किङ कसूरका मुद्दा दर्ता भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी दिनेशकुमार आचार्यले जानकारी दिए ।
उनका अनुसार बैङ्किङ कसूरमा पनि चेक बाउन्सका मुद्दा धेरै छन् । पछिल्लो समयमा प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोगबाट हुने अपराधका घटना बढ्दै गएको उनले बताए ।
काठमाडौँ उपत्यकामा एक हजार तीन सय ३७ मुद्दा दर्ता भएको प्रवक्ता आचार्यले बताए । मधेस प्रदेशमा सात सय १५, कोशी प्रदेशमा ६ सय ६५, लुम्बिनी प्रदेशमा ६ सय १२, बागमतीमा तीन सय ७६, सुदूरपश्चिममा दुई सय ७९, गण्डकी प्रदेशमा तीन सय २३ तथा कर्णाली प्रदेशमा एक सय ६१ आपराधिक घटनाका मुद्दा प्रहरीमा दर्ता भएका प्रहरीले जनाएको छ ।