विराटनगर । विराटनगर–४ कञ्चनबारीस्थित नोबेल शिक्षण अस्पतालले उपचारमा गम्भीर लापरबाही गरी बिरामीको मृत्यु भएको भन्दै मृतकको परिवारले अस्पताललाई समेत विपक्षी बनाउँदै डाक्टरविरुद्ध मुद्दा दायर गरेको छ । 

सुनसरी इनरुवाकी विमला थापा पोखरेलको मृत्यु भएपछि परिवारले उपचारमा लापरबाही भएको आरोप लगाउँदै नोबेल हस्पिटलसहित उपचारमा संलग्न चिकित्सक फोक्सो रोग विशेषज्ञ डाक्टर रामहरि घिमिरे र डा. रूपक केसीविरुद्ध मोरङ अदालतमा बुधबार फिराद–पत्र दायर गरेका हुन् । मृतकका श्रीमान् महेश्वर पोखरेलले मोरङ अदालतमा  संविधानको धारा ४२ (२), उपभोक्ता संरक्षण ऐनको दफा ३ को ५० र ५१ बमोजिम क्षतिपूर्ति माग्दै मुद्दा दायर गरेका छन् । पाँच करोड रुपैयाँ क्षतिपूर्ति विपक्षीबाट असूलउपर हुनुपर्ने मागदाबी फिराद पत्रमा उल्लेख छ । अदालतले पीडित परिवारलाई जेठ ६ गते तारिख दिएको छ ।

गत माघ १० गते सुनसरी इनरुवाकी विमलालाई श्वासप्रश्वासको समस्या देखिएपछि नोबेल हस्पिटलको ओपिडीमा उपचारका लागि आएकी थिइन् । उनलाई हस्पिटलमा भर्ना गरी कलेजका प्राचार्यसमेत रहेका डा. रामहरि घिमिरेले बिरामीको ढाडको दुखाइ पनि निको पारिदिन्छु भनी उपचार गर्दा बिरामी आमाको माघ २१ गते मृत्यु भएको छोरा सुशान्तरमन पोखरेलको भनाइ छ । ‘मोर्फिन’ नामक औषधि मात्राभन्दा बढी दिएको कारणले आमाको मृत्यु भएको उनको आरोप छ । ‘आमालाई आवश्यकभन्दा बढी औषधि दिएकाले मृत्यु भएको स्वास्थ्य क्षेत्रका चिकित्सकहरूले भनेका छन् । उपचारमा गम्भीर लापरबाही भएको छ’–विराटनगरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने । 

यस्तो छ घटना
पोखरेलको श्वासप्रश्वासमा समस्या देखिएपछि गत माघ १० गते नोबेल अस्पताल पुगिन् । ओपिडीमा जाँच परीक्षणका लागि गएकी उनलाई अस्पतालका चिकित्सकहरूले फोक्सोमा दीर्घकालीन अवरोधसम्बन्धी रोग सीओपीडी र रक्तअल्पताको समस्या देखिएको बताए । चिकित्सकको सल्लाहबमोजिम भर्ना भई उनको उपचार प्रक्रिया सुरु भयो ।

विभिन्न परीक्षणपश्चात् डाक्टर घिमिरेको रेखदेखमा उनको उपचार भयो । एक साताको उपचारपछि घिमिरेले नै डिस्चार्ज गर्न परिवारलाई सुझाव दिए । निको भएर डिस्चार्ज हुने दिन मेडिकल कलेजमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलको भ्रमण थियो । ‘स्वास्थ्यमन्त्रीको भ्रमणका कारण विपक्षी (अस्पताल)ले डिस्चार्ज गर्न नमिल्ने जानकारी दिए । हामी अस्पतालमा बस्न बाध्य भयौँ’–मृतकका श्रीमान् महेश्वरले दायर गरेको फिराद पत्रमा उल्लेख छ ।

श्रीमान् महेश्वरका अनुसार विमलाको ढाडमा २०–२५ वर्षदेखि सामान्य दुखाइको समस्या थियो । अर्थोपेडिक डाक्टरको सल्लाहबमोजिम औषधि सेवन गरिरहेकी थिइन् । डिस्चार्ज भइसकेकी विमलाको ढाड दुख्ने समस्या देखियो । अर्को दिन डाक्टर घिमिरे राउन्डमा आएनन् । २० गते राउन्डमा आउँदा विमलाले आफ्नो ढाडको समस्या सुनाइन् । त्यसपछि डाक्टर घिमिरेले हतार नगर्न बताउँदै एलबीपी (ढाडको तल्लो भागको दुखाइ ठीक हुने औषधि) लेखिदिन्छु भनेर सोही दिन ‘मोर्फिन’ नामक औषधि खान दिएको फिराद पत्रमा उल्लेख छ । डा. घिमिरेको सिफारिसमा अर्का डा. रूपक केसीले उक्त औषधि लेखिदिएको परिवारको भनाइ छ ।

‘डा. रामहरि घिमिरे र डा. रूपक केसीले ड्रग्स स्लिपमा सहीछापसमेत गरेर मोर्फिन सेवन गर्न लगाए । मोर्फिन सेवनपश्चात् मेरी पत्नीलाई अत्यन्तै असहज भयो । ज्वरो आउने र श्वास–प्रश्वासमा समस्या उत्पन्न भयो । वार्डमा कार्यरत नर्सलाई बताउँदासमेत बेवास्ता गर्नुभयो’ फिरादपत्रमा भनिएको छ, ‘माघ २१ गते रातभरि मेरी पत्नी पीडाले छट्पटाइन्, बिहानपख बेहोस भइन् । मैले रोईकराई गरेपछि आईसीयूमा लगियो र अघिल्लो दिन डिस्चार्ज हुन लागेकी मेरी पत्नीलाई विपक्षी(अस्पताल) ले मृत घोषणा गरिदिए ।’

मोर्फिन एक शक्तिशाली ओपीओइड एनाल्जेसिक (पेनकिलर) हो । यसको प्रयोग अत्यधिक दुखाइका बेला चिकित्सकको रेखदेखमा दिइन्छ । यद्यपि श्वास–प्रश्वासका बिरामी, एलर्जी, नशासम्बन्धी रोग, गम्भीर मिर्गौला र कलेजोका बिरामी र गर्भवती महिलालाई दिन नहुने चिकित्सकहरू बताउँछन् । डा. घिमिरे फोक्सोसम्बन्धी विज्ञ डाक्टर भएकाले एलबीपीको उपचार गर्ने र औषधि दिने काम उनको नभएको छोरा सुशान्तले बताए । गलत औषधि दिई गम्भीर लापरबाही गरेका कारणले आमाको मृत्यु भएको उनको भनाइ छ । अस्पतालले उपलब्ध गराएको कागजात हेर्दा पनि चिकित्सकीय लापरबाहीका कारण आफ्नी आमाको मृत्यु भएको देखिएको उनले बताए ।

सम्बन्धित विशेषज्ञ डाक्टरको निरीक्षणविनै तीनपटक ५० एमजीका दरले १ सय ५० एमजी मोर्फिन औषधि सेवन गराइएको अस्पतालबाट जारी औषधि पत्रमा देखिन्छ । ‘दीर्घकालीन फोक्सोसम्बन्धी रोग (सीओपीडी)का बिरामीलाई दिन नहुने र हड्डीसम्बन्धी उपचार र औषधि दिने कार्य अर्थोपेडिक डाक्टरले गर्ने सामान्य प्रचलन भए पनि आफू विशेषज्ञ नरहेको विषयको प्रयोगस्वरूप ढाडको दुखाइसमेत ठीक पारिदिन्छु भनी डाक्टर रामहरिले दायित्व पालन नगरी उल्लङ्घन गर्नुभयो’–छोरा सुशान्तले पत्रकार सम्मेलनमा भने । उक्त विषयमा बुझ्न खोज्दा डाक्टरले गैरजिम्मेवार जवाफ दिएको दाबी पनि उनले गरेका छन् । प्रयोग गर्न नमिल्ने भए कम्पनीले औषधि किन बनाउँथ्यो भन्दै आफ्नो व्यापार भएको कुनै सेवा नभएको दम्भपूर्ण जवाफ चिकित्सकले दिएको दाबी उनले गरेका छन् । 

कडा कारबाहीको माग
मृतक परिवारले उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कडा कारबाहीको मागसमेत गरेका छन् । उनीहरूले विराटनगरमा पत्रकार सम्मेलन गरेर आफ्नो आमाकोजस्तो अरू आमाहरूले गलत उपचारका कारण ज्यान गुमाउनु नपरोस् भन्दै उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाहीको माग राखेको छोरा सुशान्तले बताए । ‘नोबेल हस्पिटलमा उपचारमा लापरबाही गरेको पाइएको छ । त्यही भएर कानूनी कारबाहीका लागि हामीले न्यायको खोजीमा अदालतमा मुद्दा दर्ता गरेका हौँ । उपचारमा लापरबाही गर्ने चिकित्कसविरुद्ध मोरङ अदालतमा मुद्दा दर्ता गरेको यो घटना पहिलो पटक रहेछ’ उनले भने, ‘यसअघि काठमाडौँमा यस्तै प्रकृतिको मुद्दा दर्ता भएको रहेछ । पछि पीडितको पक्षमा फैसलासमेत भएको रहेछ । त्यही नजिर ल्याएपछि हामी पनि मुद्दा दर्ता गर्न सफल भएका छौँ । अदालतले न्याय दिन्छ भन्ने हामीलाई विश्वास रहेको छ ।’

घटनाको अध्ययन भइरहेको छः नोबेल हस्पिटल
नोबेल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलका महाप्रबन्धक दिपेश राईले घटनाको विषयमा अध्ययन भइरहेको बताए । गलत उपचारका कारण बिरामीको मृत्यु भएको भन्ने आरोप र त्यस सन्दर्भमा अदालतमा दर्ता भएको मुद्दाको विषय सार्वजनिक भएपछि अस्पतालले त्यसलाई अध्ययन गरिरहेको उनले बताए । ‘गत माघ २१ गतेको घटना रहेछ, त्यस दिन बिरामीको मृत्यु भएपछि परिवारका सदस्यहरूले सहजरूपमै अस्पतालबाट शव बुझेर लैजानुभएको देखिन्छ, त्यस्तो कुनै कम्प्लेनहरू पनि अस्पतालमा आएको थिएन, तर अचानक अदालतमा मुद्दा परेको खबर पाएका छौँ । त्यसपछि हामी पनि डकुमेन्टहरू खोजेर अध्ययन गरिरहेका छौँ र अध्ययनपछि घटनाका बारेमा अस्पतालले आफ्नो धारणा सार्वजनिक गर्छ । अहिलेसम्मको जानकारीअनुसार फोक्सोको बिरामी भए पनि डा. घिमिरेले न्यूरो कन्सर्न गराउन लगाउनुभएको देखिएको छ, मुटुमा पनि समस्या देखिएको र त्यसको परीक्षण गराउन लगाउनुभएको देखिन्छ, तर पछिल्लो खबरले हामी पनि गम्भीर भएका छौँ र अध्ययन गरेर यस विषयमा हामी धारणा सार्वजनिक गर्छौं’–उनले भने । उपचारको विषयमा बुझ्न हस्पिटलका डाक्टर रामहरि घिमिरेलाई बारम्बार फोन सम्पर्क गर्ने प्रयास गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।