विजयपुर । झापा र मोरङका विभिन्न स्थानबाट लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार झापाको भद्रपुर–३, आँपगाछीस्थितबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरिएको हो । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले भद्रपुर–४ का मनराज राई र खगेन्द्र गौतमलाई २ ग्राम ४१० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यस्तै, मोरङको उर्लाबारी–३ बाट पनि ठूलो परिमाणमा प्रतिबन्धित औषधि, ब्राउन सुगर र गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा स्थानीय ४३ वर्षीय योगेन्द्र तुङहाङ र ४४ वर्षीय कमल दाहाललाई पक्राउ गरेको हो । उनीहरूबाट २६ हजार ६५ पिस प्रतिबन्धित औषधि, ७ ग्राम ८९० मिलिग्राम ब्राउन सुगर, २ किलो २३० ग्राम गाँजा, २२ हजार २ सय ७० रुपैयाँ, तीन थान मोबाइल र प्र.१–०२–५९ प १८५९ नम्बरको स्कुटर बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।