विजयपुर । सुनसरीको हरिनगरा गाउँपालिका–४ भुटाहा बजारबाट अवैध रूपमा काँचो केरा ओसारपसार गरिरहेको अवस्थामा दुई पिकअप भ्यानसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद सामग्रीको मूल्य करिब ११ लाख २० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शुक्रबार प्रहरी चौकी भुटाहा र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त टोलीले घुस्कीबाट इनरुवा तर्फ आउँदै गरेका प्र १–०२–००२ च ७४४९ र प्र १–०१–००२ च १८०१ नम्बरका पिकअप गाडीलाई चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा दुवै गाडीमा बिलबिजकबिना ठूलो परिमाणमा काँचो केरा लोड गरिएको फेला परेपछि गाडी र संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा मोरङ रतुवामाई–८ का २२ वर्षीय प्रल्हाद दाहाल, मोरङ उर्लाबारी–८ का २४ वर्षीय ज्ञानबहादुर भट्टराई, सुनसरी भोक्राहा नरसिंह–२ का २७ वर्षीय सेराज मियाँ र कोशी गाउँपालिका–८ भण्टाबारीका ६० वर्षीय रामेश्वर दास रहेका छन् । बरामद गरिएका गाडी तथा केरा आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।