विजयपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुकुम्बासीलाई जबरजस्ती हटाउने सरकारी कार्यप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल रोक्न माग गरेको छ । नेकपाले विज्ञप्ति जारी गरी महङ्गी र कालोबजारी रोक्न समेत माग गरेको छ ।
पार्टीको केन्द्रीय कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारले सुकुम्बासी परिवारलाई बसोबास र जीविकोपार्जनको उचित विकल्प उपलब्ध नगराई जबरजस्ती उठीवास लगाउने तथा त्रास फैलाउने कार्य गरिरहेको उल्लेख छ । उक्त कदमले पीडित परिवारलाई विस्थापित बनाउने मात्र नभई सीमान्तकृत समुदायमा राज्यप्रतिको जनविश्वास कमजोर पार्ने खतरा रहेको पार्टीले ठहर गरेको छ ।
विज्ञप्तिमा सुकुम्बासी व्यवस्थापनका सन्दर्भमा दीर्घकालीन र न्यायोचित पुनर्वास योजना ल्याउन सरकारसँग माग गरेको छ । पुनर्वासको सुनिश्चितता नगरी गरिएको हटाउने कार्य अमानवीय हुने भन्दै यस्ता गतिविधि नगर्न चेतावनी दिएको छ ।
त्यस्तै, पार्टीले पछिल्लो समय विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने प्रयासप्रति पनि आपत्ति जनाएको छ । लोकतान्त्रिक व्यवस्थामा संगठन खोल्ने तथा विचार व्यक्त गर्ने अधिकार सुनिश्चित हुनुपर्ने भन्दै त्यस्ता प्रतिबन्धहरू अस्वीकार्य रहेको विज्ञप्तिमा भनिएको छ ।
पार्टीले जनताले सुशासन, सामाजिक न्याय र समृद्धिको अपेक्षा गरेको उल्लेख गरेको छ । सरकारले गरेका सकारात्मक प्रतिबद्धताको स्वागत गर्दै कार्यान्वयनका क्रममा देखिएको एकपक्षीय दृष्टिकोण र प्रक्रियागत कमजोरीप्रति चिन्ता व्यक्त गरेको छ । पार्टीले सरकारलाई लोकतान्त्रिक मूल्य–मान्यताअनुसार काम गर्न, सुकुम्बासी, किसान, मजदुरलगायत उत्पीडित वर्गका पक्षमा उभिन तथा सामाजिक न्याय सुनिश्चित गर्न आग्रह गरेको छ ।
नयाँ सरकार गठन लगत्तै महङ्गी र कालो बजारी बढेकोले तत्काल नियन्त्रण गर्न हाम्रो पार्टीले आग्रह गरेको छ ।